स्थानियान्यूज, रौतहट, वैशाख २४ गते।
नेपाल सरकारद्वारा हालै जारी गरिएको शिक्षा ऐन संशोधन सम्बन्धी अध्यादेशपछि रौतहट जिल्लाका सामुदायिक विद्यालयहरूको विद्यालय व्यवस्थापन समितिमा महत्वपूर्ण फेरबदल हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ गौर, रौतहटले बिहीबार एक सूचना जारी गर्दै विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै गाउँपालिका, नगरपालिका तथा सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएको हो।
इकाइ प्रमुख तथा उपसचिव नन्द किशोर गुप्ताद्वारा जारी सूचनामा नेपाल सरकारद्वारा मिति २०८३ वैशाख २० गते राजपत्रमा प्रकाशित “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” अनुसार शिक्षा ऐन, २०२८ को दफा १२ उपदफा (१) खण्ड (ग) मा रहेको व्यवस्था हटाइएको उल्लेख गरिएको छ।
उक्त व्यवस्था हटाइएपछि सोही खण्ड अन्तर्गत मनोनित भएका विद्यालय व्यवस्थापन समितिका सदस्यहरू स्वतः पदमुक्त हुनेछन्। अब विद्यालय व्यवस्थापन समिति ७ सदस्यीय मात्र कायम रहने व्यवस्था लागू भएको जनाइएको छ।
सूचनामा खण्ड (ग) बाट सदस्य वा अध्यक्ष बनेका पदाधिकारी हट्ने अवस्था आएमा बाँकी रहेका मौजुदा सदस्यहरूमध्येबाट अध्यक्षको जिम्मेवारी तोकी विद्यालयको व्यवस्थापकीय कार्य नियमित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ।
त्यसैगरी, हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नभएका विद्यालयहरूलाई पनि संशोधित कानुनी व्यवस्था अनुसार समिति गठन गर्न निर्देशन दिइएको छ।
यस नयाँ व्यवस्थाले विद्यालय व्यवस्थापनलाई कानुनी रूपमा थप स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको शिक्षा क्षेत्रका सरोकारवालाहरूले बताएका छन।

Sthaniya News
