स्थानियान्यूज,रौतहट, वैशाख २५ गते।
रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको अमना मस्जिद को शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
स्थानीय समाजसेवी शेख मोतिन सेठले राजपुर नगरपालिकाको कार्यालय नजिक आफ्नै जग्गामा व्यक्तिगत लगानीमा मस्जिद निर्माण गर्न लागेका हुन। धार्मिक आस्था, सामाजिक एकता तथा सामुदायिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त मस्जिदको शिलान्यास विशेष समारोहका बीच सम्पन्न गरिएको हो।
कार्यक्रममा रौतहट क्षेत्र नं. २ का नेपाली कांग्रेसका वरिष्ठ नेता मोहम्मद महताब आलम, राजपुरका नगर प्रमुख डा. राजिक आलम, वडा नं. ४ का वडा अध्यक्ष शेख अन्सारुल हक लगायत विभिन्न मौलाना, बुद्धिजीवी, समाजसेवी तथा सयौं स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिलान्यास कार्यक्रममा बोल्दै वक्ताहरूले धार्मिक संरचनाले समाजमा आपसी भाइचारा, सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले मस्जिद निर्माण कार्यले स्थानीय समुदायमा धार्मिक गतिविधि सञ्चालनका साथै सामाजिक एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन।
मस्जिद निर्माणकर्ता शेख मोतिन सेठले समाज र धर्मप्रति आफ्नो जिम्मेवारी महसुस गर्दै पूर्ण रूपमा व्यक्तिगत लगानीमा मस्जिद निर्माण गर्न लागेको बताए। उनले आगामी दिनमा पनि सामाजिक तथा धार्मिक कार्यमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन।

स्थानीयवासीहरूले पनि मस्जिद निर्माणलाई राजपुर क्षेत्रको धार्मिक तथा सामाजिक विकाससँग जोडिएको महत्वपूर्ण कदमको रूपमा लिएका छन।
Sthaniya News
