स्थानियान्यूज, रौतहट, वैशाख २४ गते ।
रौतहटका सेवाग्राहीका लागि राहदानी (Passport) सम्बन्धी सेवा अझ सहज र प्रविधिमैत्री बनेको छ। अबदेखि Passport आवेदन दिने व्यक्तिले आफ्नो राहदानी जिल्ला प्रशासन कार्यालयबाट स्वयं बुझ्ने वा घरमै हुलाकमार्फत प्राप्त गर्ने भन्ने विकल्प रोज्न पाउने भएका छन।
जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवका अनुसार घरमै Passport प्राप्त गर्न चाहने सेवाग्राहीले आवेदन फाराम भर्दाकै समयमा रु. ५५ बराबरको हुलाक टिकट खरिद गरी बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि राहदानी जिल्लामा प्राप्त हुनेबित्तिकै हुलाक सेवामार्फत सम्बन्धित व्यक्तिको घरदैलोमै पुर्याइनेछ।

यस नयाँ व्यवस्थाले सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयसम्म पटक-पटक धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ। विशेषगरी टाढा गाउँबाट सदरमुकाम पुग्नुपर्ने बाध्यता कम हुने तथा समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।
प्रमुख यादवले यस सेवाले आमजनतालाई सहजता प्रदान गर्नुका साथै हुलाक कार्यालयको भूमिकासमेत थप प्रभावकारी बन्ने बताए। उनले सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन हुलाक सेवाले आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन।
स्थानीयवासीले पनि घरमै Passport प्राप्त गर्ने सुविधा सुरु हुनु सकारात्मक कदम भएको भन्दै खुसी व्यक्त गरेका छन।
Sthaniya News
