Breaking News
मधेशमा लागूऔषध विरुद्ध कडा अभियान सुरु “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” शुभारम्भ

मधेशमा लागूऔषध विरुद्ध कडा अभियान सुरु “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” शुभारम्भ

जनकपुरधाम, वैशाख २६ गते।
मधेश प्रदेशमा बढ्दो लागूऔषध दुव्र्यसन नियन्त्रण तथा युवाहरूलाई सुधारतर्फ उन्मुख गराउने उद्देश्यले “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, उद्योगी–व्यवसायी, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


अभियानअन्तर्गत सीमावर्ती नाकाहरूमा “Drug Testing Check Point” स्थापना गरी आधुनिक Drug Test Kit मार्फत लागूऔषध सेवन गरे/नगरेको परीक्षण गरिने भएको छ। साथै, सीमाक्षेत्र हुँदै नियमित आवतजावत गर्ने युवा–युवतीहरूको तथ्यांक संकलन गरी निगरानीसमेत गरिने जनाइएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार यो अभियान केवल नियन्त्रणमा सीमित नभई लागूऔषध प्रयोगकर्ताको पहिचान, परामर्श, सुधार र पुनःस्थापनामा समेत केन्द्रित रहनेछ। प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न सरकारी एवं गैरसरकारी संघ–संस्थासँग समन्वय गरी आगामी दिनमा पनि आवश्यक Drug Test Kit उपलब्ध गराइने तथा अभियानलाई अझ प्रभावकारी बनाइने बताइएको छ।
हाल मधेश प्रदेशका आठवटै जिल्लामा अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको प्रहरी कार्यालयले जनाएको छ। लागूऔषध दुव्र्यसनका कारण समाजमा बढ्दै गएको अपराध, पारिवारिक विखण्डन तथा युवापुस्तामा परेको नकारात्मक असर न्यूनीकरण गर्न यो अभियान महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
कार्यक्रममा वक्ताहरूले लागूऔषधमुक्त समाज निर्माणका लागि प्रहरी, सरकार, अभिभावक, विद्यालय तथा समुदाय सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*