जनकपुरधाम, बैशाख २७ गते।
मधेश प्रदेशको राजनीतिमा पछिल्ला केही दिनदेखि तीव्र चर्चा र अड्कलबाजीबीच अन्ततः मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकार जोगिएको छ। सत्ता साझेदार दलहरूको आइतबार बसेको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिने तथा यथाशीघ्र विश्वासको मत लिने निर्णय गरेसँगै मधेश सरकार तत्कालका लागि सुरक्षित बनेको हो।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार ढल्ने सम्भावना र नयाँ राजनीतिक समीकरणबारे विभिन्न अड्कलबाजी सुरु भएको थियो। तर नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपा नेपालले एकजुट हुँदै मुख्यमन्त्री कृष्ण यादवकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने सहमति गरेका छन्।
बैठकपछि जारी गरिएको संयुक्त पत्रमा नेपाली काँग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्ण प्रसाद यादव, जसपा नेपालका दलका नेता सरोज कुमार यादव, नेकपा संसदीय दलका नेता युवराज भट्टराई तथा लोसपा नेपालका तर्फबाट दलका नेता जयनुल राइन र प्रतिनिधि रानी शर्मा तिवारी ले हस्ताक्षर गर्दै सरकारलाई समर्थन कायम रहने जानकारी दिएका छन्।
सत्ता साझेदार दलहरूको यस निर्णयसँगै मधेश प्रदेशको राजनीतिक समीकरणले नयाँ मोड लिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। अब मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकार अझ मजबुत रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
प्रदेश सरकारको स्थायित्वसँगै विकास निर्माण, सेवा प्रवाह र जनअपेक्षाका कामहरूलाई गति दिने विषयमा पनि सत्तारूढ दलहरूबीच साझा समझदारी बनेको बताइएको छ।

Sthaniya News
