आरएन पटेल,राैतहट, बैशाख २९ गते।
स्वर्गीय मनोज कुमार चौधरीको पाँचौँ पुण्यतिथिको अवसरमा वंशिराम जयसवाल अनाथालयमा एक भावुक तथा सामाजिक कार्यक्रम सम्पन्न भएको छ । चौधरी पुण्यतिथिको अवसरमा गरुडा नगरपालिकाकी उपमेयर तथा चौधरीको धर्मपत्नी पुनम कुमारी चौधरी आफ्नो परिवारसहित अनाथालय पुगेर दिवंगत श्रीमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै बालबालिकासँग समय बिताएकी छन । साथै अनाथालयका बालाबालिकाहरुको सहयोगका लागि खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेकी छन।

कार्यक्रममा उपमेयर चौधरीसँग उनका छोरा आरूष चौधरी पनि सहभागी थिए । उनीहरूले अनाथ बालबालिकासँग दु:ख-सुख साट्दै आत्मीय वातावरण सिर्जना गरेका थिए ।

यस अवसरमा अनाथालयका बालबालिकालाई आवश्यक खाद्यान्न सामग्री तथा शैक्षिक सामग्रीहरू समेत वितरण गरिएको थियो । सामग्री वितरणले संस्थामा आश्रित बालबालिकालाई अध्ययन र दैनिक जीवनयापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

उपमेयर चौधरीले स्वर्गीय मनोज कुमार चौधरीको स्मृतिमा सामाजिक सेवा कार्य निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेकी छन । अनाथालयका व्यवस्थापकले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्तो कार्यले बालबालिकामा आत्मबल बढ्ने बताएका छन ।
कार्यक्रम भावनात्मक वातावरणमा सम्पन्न भएको थियो, जहाँ उपस्थित सबैले स्वर्गीय आत्माको चिरशान्तिको कामना गरेका थिए ।
Sthaniya News
