आरएन पटेल, राैतहट, बैशाख ३० गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुर दो. चौकमा नयाँ निजी स्वास्थ्य संस्था ग्रिन लाईफ हस्पिटल सञ्चालनमा आएको छ । हस्पिटलका सञ्चालक मनिभूषण यादवले विधिवत पूजापाठ गरि सन्तपुर क्षेत्रमा निजी अस्पतालको अभाव रहेकाले स्थानीयवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले अस्पतालमा विशेषगरी महिला तथा बालबालिकाको उपचारलाई प्राथमिकतामा राखिने र सम्बन्धित विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गरिने बताए । गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धतासहित स्थानीयवासीलाई ग्रिन लाईफ हस्पिटलमै उपचार गराउन उनले आग्रह गरेका छन् । उनका अनुसार फतुवा विजयपुर नगर क्षेत्रका नागरिक सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अब अन्त्य हुने अपेक्षा गरिएको छ ।

साथै सुरुको एक महिनासम्म प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने पनि उनले जानकारी दिए । हस्पिटलमा अत्याधुनिक प्याथोलोजी सेवा, रगत तथा पिसाब जाँच, एक्स–रे सेवा, फार्मेसी, एम्बुलेन्स तथा २४ घण्टा इमर्जेन्सी सेवा उपलब्ध रहेको जनाइएको छ । सञ्चालक यादवले यस क्षेत्रका आम सर्वसाधारणहरुलाई जथाभावी स्वास्थ्य परीक्षण नगरी विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार मात्र स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन ।

Sthaniya News
