आरएन पटेल ।
रौतहट,असोज ८ गते ।
रौतहटको देवाही गोनाही नगरपालिकमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि उग्ररूप लिदै ३ प्रहरी सहित विद्यार्थी पनि घायल भएका छन । नगरपालिकाको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरुवा गर्न लागेको विरोधमा विद्यालयका विद्यार्थीहरुले मंगलवार नगरपालिका कार्यालय अगाडी चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका थिए ।

आन्दोलनले उग्ररूप लिदै विद्यार्थीहरुले कार्यालय भवनमा तोडफोड समेत गरेका छन । विद्यार्थीहरुले ढुङ्गा प्रहार गरि पालिका कार्यालयको सम्पुर्ण झ्यालको सिसा पुर्ण रूपमा फुटाइदिएका छन । विद्यार्थीहरुले प्रहार गरेका ढुङ्गामुढाबाट पालिका कार्यालयका साथै पार्किङ गरि राखिएको डोजर र एम्बुलेन्समा समेत क्षती पुर्याएका छन ।
देवाही गोनाहीका मेयर प्रेमलाल साहले आफ्नो मनोमानी ढंगले प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै आक्रोशित विद्यार्थीहरुले प्र.अ. गुप्ताको सरुवा फिर्ता गर्न माग राख्दै कार्यालयमा ढुङ्गामुढा गरेका थिए । आन्दोलनमा उत्रेका विद्यार्थीहरुको भिड़लाई नियन्त्रण गर्न खटेका प्रहरी टोलीका ३ जना प्रहरी जवान सहित केहि विद्यार्थीहरु पनि घाइते भएका छन ।
नगर प्रमुख साहले प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न खोजेको भन्दै उक्त सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरुले नगरपालिका कार्यालय अगाडि टाएर बालेर प्रदर्शन गरेका छन ।
विद्यालयको शिक्षा सुधारमा उल्लेखनीय योगदान गरेका प्रधानाध्यापक गुप्ता विद्यालयमा आएदेखी नै पढाईको अवस्थामा व्यापक सुधार गरेपछी मेयर साहले रकमी चलखेल गरि गुप्तालाई सरुवा गर्न खोज्दा आफुहरु प्रदर्शन गरि पालिकामा तोडफोड गरेको विद्यार्थीहरुले बताएका छन । मेयर साहले राम्रा शिक्षकलाई अन्यत्र सरुवा गरि विद्यालयमा राजनितिकरण गर्न खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन ।
मेयर साहले आर्थिक चलखेलको आधारमा प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले निकै आक्रोशीत हुँदै मेयर साहका विरुद्ध चर्को नाराबाजी गरेका थिए । पालिकाले अनाधिकृत रूपमा प्रधानाध्यापक गुप्तालाई गर्न लागेकाले तुरुन्त सरुवा रोक्नुपर्ने माग राख्दै सयौंको संख्यामा नगरपालिका अगाडि जम्मा भएका विद्यार्थीहरु करिव तीन घण्टा लगातार उग्र प्रदर्शन गरेका थिए । साथै विद्यार्थीहरुको आन्दोलनले गोनाहीको अवस्था निकै तनावग्रस्त बनेको थियो ।
नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरि क्षती पुर्याउन थालेपछी मेयर साहले नगर शिक्षा समितिको बैठकबाट प्रधानाध्यापक गुप्तालाई सरुवा गर्ने सम्बन्धी चलिरहेको नगर शिक्षा समितिको बैठक स्थगित गरेका थिए । बैठक स्थगितको सूचना प्रकाशन गरेपछी विद्यार्थीहरुले प्रदर्शनलाई विराम दिएका हुन ।
बैठक स्थगितको सूचना प्रकाशन भएपनि गुप्तालाई अन्यत्र सरुवा गरे आफुहरु पुनः आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसबाट हुने घटनाको सम्पुर्ण जिम्मेवारी मेयर साहलाई लिनुपर्ने उनिहरुको चेतावनी रहेको छ ।
Sthaniya News
