स्थानीय न्यूज ।
रौतहट, असोज १४ गते ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं-९ सोनरनियामा विगतका वर्षदेखि पानी निकासको समस्या खेप्दै आएका स्थानीय जनताहरूले राहत महसुस गरेका छन्। वडा नं-८ र ९ मा रहेका जाम भएका ह्युम पाइपहरूको समस्या समाधान गर्ने कार्य वडाध्यक्ष श्याम किशोर साहको पहलमा सुरु भएको हो। विगतमा यी पाइपहरू जाम भएको कारण गाउँमा वर्षा याममा पानी निकास नहुनु र बस्तीहरूमा पानी जमेर स्थानियहरुको जनजीवन कष्टकर हुँदै आएको थियो।

वडाध्यक्ष साहका अनुसार वर्षौंदेखी नदेखिएको यो समस्याले यस वर्ष गाउँमा बाढीको प्रभावले पानी जम्ने तथा घरवार समेत डुबानमा पर्ने समस्या निम्त्याएको थियो। यसपालिको बाढ़ी तथा निरन्तर भएको वर्षको कारणले पानी जमेर बाटोघाटो डुबानमा पर्ने, घर आँगनमा पानी जमेर सरसफाइमा समस्या आउने र रोगव्याधि फैलने सम्भावना बढ्दै गएको थियो। विशेषगरी, पानीको प्राकृतिक निकास नभएकाले खेतबारीसमेत डुबानमा परेर कृषिमा गम्भीर असर परेको छ । स्थानीय जनताहरूले यो समस्या समाधानको लागि पटक पटक सरोकारवालाहरूलाई अनुरोध गर्दै आएका थिए।

यस समस्यालाई गम्भीरता पूर्वक बुझेर वडाध्यक्ष साहले जेसिवी मेसिनको प्रयोग गरी जाम भएका पानी निकास हुने पाइपहरूको सफाई कार्यलाई तीव्रता दिएका हुन । उनका अनुसार, लामो समयदेखि थुनिएका पाइपहरूका कारण गाउँको पानी नालातिर बग्न नसक्दा गाउँ नै डुबानमा पर्ने अवस्था सिर्जना भएको थियो। तर अहिले सफाई अभियान सुरु भएसँगै जमेका पानीको निकास सुचारु भएको छ। यस कार्यले गाउँमा थुनिएर रहेको पानीको समस्या समाधान भएको छ।

स्थानीय जनताले यस सराहनीय कार्यप्रति प्रसन्नता व्यक्त गर्दै वडाध्यक्ष साहलाई धन्यवाद दिएका छन्। उनीहरूले यस्तो पहललाई समयमै भएको राहतको संज्ञा दिएका छन । जसले अब वर्षा याममा डुबानको डर नहुने आशा गरेका छन्। स्थानीयहरूका अनुसार वडाध्यक्ष साहको यो प्रयासले दीर्घकालीन रूपमा गाउँको सरसफाइ र स्वास्थ्य स्थितिमा सुधार आउने विश्वास गरिएको छ ।

Sthaniya News
