आरएन पटेल ।
रौतहट, असोज २० गते ।
पचरौताका मेयर जलन्धर सिंह कुर्मीद्वारा स्थानीयलाई गैस सिलिण्डर र चुल्हो सेट वितरण गरिएको छ । बारा जिल्लाको पचरौता नगरपालिका–५ बेलदारीका पचासी परिवारलाई आज खाना पकाउने एलपी गैस सिलिण्डर र चुल्हो सेट वितरण गरिएको हो ।

पूर्व नगर प्रमुखको कार्यकालमा बितरण गरिएको ५ हजार ६ सय गैस सहितको चूल्होबाट बन्चित भएका लगभग १२ सय ६५ घर परिवारलाई आफु निर्वाचित भएपछि नगर प्रमुख सिंहले गैस सिलिन्डर सेट बितरण गर्ने प्रतिबद्धता अनुरूप नगरबासीलाई चुल्हो सहितको गैस सिलिन्डर वितरण गर्न लागिएको नगर प्रमुख सिंहले जानकारी दिए ।
आइतबारबाट सुरु भएको यो कार्यक्रम धुवाँमुक्त नगर अभियानसँग सम्वन्धित भएको र दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले पनि यो कार्यक्रम ल्याइएको नगर प्रमुख सिंहले बताए ।

वडा नम्बर ७ बेनौलीमा रहेको पालिका कार्यालयको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगर प्रमुख सिंहले चुल्हो सहितको सिलिन्डर वितरण कार्यको सुरुवात गरेका छन् । आज वडा नम्बर ५ बेलदारीका ८५ परिवारलाई बितरण गरिएको र बाँकी वडाका परिवारलाई क्रमश बितरण गरिने नगर प्रमुख सिंहले जानकारी दिए।
दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि स्थानीयहरु खुशी समेत भएका छन्। ‘ग्याँस उपलब्ध भएपछि दाउरा खोज्ने समय बचत हुने र धुँवाबाट पनि मुक्त भइने छ’ एक स्थानीयले भने। एक अर्का स्थानीयले ग्याँस पाएपछि महिनाको १६ दिन बचत हुने र त्यो समयमा आफ्नो घरायसी कार्य गर्न सकिने बताए।

कार्यक्रममा नगरप्रमुख जलन्धर सिंह, प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, वडा नम्बर ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी, वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिन, स्थानीय नेता नेवाजी अंसारी, पत्रकार लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
Sthaniya News
