जनकपुरधाम, चैत्र २९ गते ।
मधेश प्रदेशका स्वास्थ्यकर्मीहरुको आन्दोलन लिखित सहमति पश्चात स्थगित भएको छ। प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ को विरुद्धमा प्रदेशभरका स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना शुक्रबारदेखि स्थगित भएको छ ।
मधेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषकाे कार्यालयले मागहरू प्राथमिकताका साथ लिने लिखित सहमति जनाएपछि आन्दोलन स्थगित भएको स्वास्थ्यकर्मी संजिप साहले जानकारी गराएका हुन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूले उक्त ऐनका प्रावधानहरूले आफूहरूको वृत्ति विकासमा गम्भीर अवरोध उत्पन्न गर्ने भएकाले तत्काल संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काइरहेका थिए ।
पाँच दिनदेखि शान्तिपूर्ण धर्ना गर्दै आएको आन्दोलनकारी पक्षले प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको गुनासो गर्दै आन्दोलनको स्वरूप परिवर्तन गरि थप सशक्त र चरणबद्ध संघर्ष गर्ने चेतावनी दिएका थिए ।
संघर्ष समिति राैतहटका कोषाध्यक्ष साहले संघीय स्वास्थ्य सेवा ऐन २०५३ अन्तर्गत भएको पदोन्नतिको प्रावधान हटाएर प्रदेश सरकारले स्वास्थ्यकर्मीहरूलाई पछाडि पार्ने काम गरेको आरोप लगाए ।
उनले भने ‘संघीय ऐनको दफा ९ अनुसार ४ तहमा नियुक्त भएका कर्मचारीले ५ वर्षपछि पाँचौँ तहमा, त्यसपछि ८ वर्षमा छैटौँ तहमा पुग्ने व्यवस्था थियो । अहिलेको ऐनले ती सबै व्यवस्था उल्टाएको छ ।’ अब हाम्रो माग पूरा हुनेमा हामी आशावादी छाैं ।
सिनियर अहेव र सिनियर अनमी चौथो तथा पाँचौँ तहका मधेश प्रदेशका करिब १,५०० देखि १,८०० स्वास्थ्यकर्मीहरू प्रत्यक्ष रूपमा उक्त ऐनबाट प्रभावित भएका छन् । ऐनले उनीहरूको पदोन्नति प्रक्रिया अवरुद्ध पार्दै भविष्यको करिअर मार्ग नै बन्द गरिदिएको उनीहरूकाे भनाइ छ ।