आरएन पटेल
रौतहट, असोज ०३ गते ।
असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा रौतहटमा संघीय लोकतान्त्रिक मोर्चाद्वारा कालो दिवस मनाइएको छ। संघीय लोकतान्त्रिक मोर्चा रौतहट जिल्ला समितिको आयोजनामा जिल्लाको सदरमुकाम गौर जसपा नेपालको पार्टी कार्यालयमा कालो दिवस मनाइएको छ।
जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष तथा बौधीमाई नगरपालिकाका पूर्व – मेयर राजिव रंजन उर्फ राजू यादवको अध्यक्षतामा मधेशकेन्द्रित दलहरूले मधेश विरोधी उक्त संविधानलाई पुनर्लेखन वा संशोधन गर्नुपर्ने माग सहित कालो दिवसको रूपमा विरोध प्रदर्शन गरेका छन ।
मधेशी समुदायको हकहितका लागि विभिन्न कालखण्डमा मधेशमा भएको आन्दोलन तथा मधेशीको मागहरू संविधानमा सम्बोधन नभएको भन्दै संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध मधेशकेन्द्रित दलहरूले कालो दिवस मनाएका छन । “संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद” नारा सहित आयोजित अन्तरक्रिया कार्यक्रममा जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले संविधान पुनर्लेखन नभएसम्म असोज ३ लाई कालो दिनका रूपमा मनाइरहने बताएका छन ।
उनले सत्तारूढ दलहरूका कारण देशमा नागरिक विद्रोह भएको र जेनजी पुस्ताको आन्दोलनले सबैको भावना समेट्ने संविधान आवश्यक रहेको जोड दिए । कार्यक्रममा लोसपा नेता अनिल कुमार सिंह, जसपा नेताहरू योगेन्द्र राय यादव र विश्वनाथ पटेलले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, जसपा नेपालका केन्द्रीय सदस्य विश्वनाथ पटेल, लोसपा नेपालका केन्द्रीय सदस्य अनिल कुमार सिंह, जसपा नेपालका पूर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादव, वडा अध्यक्ष विजय पटेल, वडा अध्यक्ष दिलीप यादव, वडा अध्यक्ष मनिभूषण साह सहित संघीय लोकतान्त्रिक मोर्चाका दर्जनौँ नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
Sthaniya News
