आरएन पटेल,राैतहट,असाेज ०६ गते ।
दशैंको सुरुवात सँगै रौतहट जिल्लाको मौलापुर नगरपालिका – ६, पथराबुधराममा पहिलो पटक दुर्गा पूजा आयोजना गरिएको छ । एक दशक यता तराई मधेशका विभिन्न जिल्लाको ग्रामीण क्षेत्रमा विजयादशमी ( दुर्गा पूजा ) मनाउनेहरूको संख्यामा वृद्धि भएको देखिन्छ।
यसै वर्षदेखि मौलापुर- ६ पथराबुधराममा थालिएको दुर्गा पूजा घटस्थापनाको दिनदेखि नव गठित दुर्गा पूजा समितिले भव्य तयारीका साथ पूजाको आयोजना सुरु गरेको हो ।
गाउँमा यसअघि कहिल्यै दुर्गा माता सहितको मूर्ति स्थापना गरी पूजा गरिएको थिएन । तर, पछिल्लो समय युवाहरूको सक्रियता र आर्थिक सहयोग जुटाउने प्रयासपछि पहिलोपटक दुर्गा पूजा गर्न सम्भव भएको समितिले जनाएको छ ।

स्थानीय शिक्षक लखिन्द्र यादवका अनुसार, “गाउँमा यस्तो धार्मिक कार्यक्रम पहिलोचोटि आयोजना हुँदैछ। युवाहरूले निकै सक्रिय भूमिका खेलेका छन् । पूजा स्थल, मूर्ति निर्माण, सजावट लगायत सबै तयारी तिव्र गतिमा भइरहेको छ।”
यस्तै अर्का स्थानीय बासिन्दा रामप्रसाद यादवले पनि दुर्गा पूजाको पहिलोपटक आयोजना हुन लागेको पुष्टि गर्दै तयारी निकै भव्य रहेको बताएका छन्। “गाउँले यसपटक इतिहास रच्दैछ,” उनले भने, “धार्मिक आस्था र सामाजिक एकताको प्रतीक बनेको छ यो पूजा।”
गाउँको चोकमा दुर्गा माताको प्रतिमा स्थापना गरिँदैछ र नवमीसम्म विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ । स्थानीय बासिन्दा, बालबालिका, युवायुवती र वृद्धवृद्धा समेत पूजामा सहभागी हुन उत्साहित देखिएका छन् ।
पथराबुधराममा पहिलोपटक आयोजित दुर्गा पूजाले धार्मिक तथा सामाजिक चेतनाको विकासमा टेवा पुर्याउने विश्वास स्थानीयले व्यक्त गरेका छन ।
Sthaniya News
