जनकपुरधाम, कार्तिक २३ गते।
मधेशमा कांग्रेससहित ६ दल एक ठाउँमा भई मधेश प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखको कार्यालयमा अनुरोध गरेका छन। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान नगरेपछि ६ दलका प्रदेशसभा सदस्य तथा प्रतिनिधिहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, कार्यबाहक मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल), नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा एकिकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह त्यहाँ पुगेका हुन् । उनीहरुले प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्न पुगेका हुन् ।
सोनल पदबाट शनिबार नै मधेश प्रदेश सभाबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख भण्डारीले दिनभरि सबै दल र संविधान विज्ञसँग आज परामर्श लिएकी थिइन् । तर, पनि उनले अझैसम्म नयाँ सरकार गठनको लागि आह्वान गरेकी छैनन् ।
Sthaniya News
