आरएन पटेल
रौतहट, कार्तिक २३ गते।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनले पत्रकार सम्मेलन गर्दै पालिकाको बेतिथिबारे प्रष्ट पारेकी छिन। करार कर्मचारी व्यवस्थापन र बोर्ड बैठकबारे धारणा राख्दै बोर्ड बैठकमा कतिपय जनप्रतिनिधिले अमर्यादित तरिकाले हो-हल्ला गर्ने, शान्ति भंग गर्ने, बैठकबाट आफुखुशी नै सम्पूर्ण निर्णय पास गराउने जस्ता प्रवृतिले विवाद उत्पन्न भएको बताएकी छिन।
मेयर खातुनका अनुसार अब शान्त र मर्यादित वातावरणमा बोर्ड बैठक बस्ने तयारी भइरहेको र आफु जहिले पनि बैठक बस्न तयार रहेको बताएकी छिन। सुशासन र पारदर्शिताका लागि आफू प्रतिबद्ध रहेको उनको भनाई रहेको छ।
दैनिक ज्यालादारी र करारका कर्मचारीको म्याद थाप्ने कार्य प्रमुख प्रशासकीय अधिकृतको रहेकोले आफु नियमानुसार कार्य अगाडी बढाउन अनुमति समेत दिईसकेको उनले बताईन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राप्त पत्र अनुसार करारका कर्मचारीहरूको म्याद थपेर कार्य अगाडी बढाउन निर्देशन दिदा पनि आफुबाट निर्णय गराएर म्याद थपी फसाउँन खोजेको कार्यवाहक मेयरको आरोप रहेको छ।
मेयर खातुनले आईतवार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी बर्तमान सरकारको निर्देशन बिपरित प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र अधिकांस वडा अध्यक्षहरुले उक्त करार कर्मचारीको म्याद थपेर मलाई फसाउँन खोजेको आरोप लगाएकी हुन्।
जेन जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारको निर्णय अनुसार करार र दैनिक ज्यालादारीका कर्मचारीको म्याद थप नगर्न सामान्य प्रशासन मन्त्रालयले केहीदिन अघि नै नगरपालिकामा पत्र पठाएको थियो।
उक्त पत्रको बेवास्ता गरी प्रशासकीय अधिकृत र अधिकांस वडा अध्यक्षहरुले म्याद थप्ने निर्णयमा हस्ताक्षर गरेका छन् तर मैले मन्त्रालयको निर्देशन अनुसार गर्नु भनेर तोक लगाई हस्ताक्षर गरेको कार्यवाहक मेयर खातुनले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छिन।
खातुनले जेनजी आन्दोलनका क्रममा जलेको नगरपालिकाको कार्यालय भवन पुनःनिर्माणका लागि बजेट छुट्याइएको जानकारी दिँदै भनिन्, “जलेको भवन मर्मत गर्ने काम हाकिमको हो, र कार्यालय स्थानान्तरणबारे छलफल कार्यपालिका बैठकमा हुनेछ।”
उनका अनुसार हाल प्रयोग भइरहेको भवनको भाडा ३८ लाख रुपैयाँ रहेको र नयाँ प्रस्तावित स्थानमा ५ लाख रुपैयाँमै फलैट उपलब्ध भएको कारण खर्च घटाउने उद्देश्यले कार्यालय सार्ने प्रस्ताव ल्याइएको बताइन् । तर, उक्त प्रस्तावप्रति वडा अध्यक्षहरूले असहमति जनाइरहेको पनि उनले बताइन् ।
खातुनले भनिन्, “वडा अध्यक्षहरूको काम वडा चलाउने हो, मेरो काम नगरपालिका सञ्चालन गर्ने हो।”
यसैबीच, कार्यवाहक नगरप्रमुख खातुनका श्रीमान् मोहमद सेराजले वडा अध्यक्षहरू विद्युत महसुल बुझाउने बारे लगाएको आरोप गलत हाे । उनका अनुसार माथिबाट विद्युत महसुल र वितरणमुखी कार्यक्रममा बन्देज लगाइएको भए पनि, “यदि नियमले अनुमति दिन्छ भने भुक्तानी गर्नुपर्छ,” भन्दै उनले नियम अनुसार काम गर्न आग्रह गरे ।
सेराजका अनुसार नगरपालिकाको १० कराेडकाे बजेट शीर्षकमा माइनस इण्ट्री गरिएको छ, जुन अस्वाभाविक भएको बताउँदै उनले थपे, “जसको जति बजेट छ, त्यत्तिकै चलाउनु पर्छ, मनोमानी गर्न मिल्दैन।”
उनले प्रमुख प्रशासकीय अधिकृतले अधिकांश बजेट कार्यक्रम सञ्चालनमा राखेको आरोप पनि लगाए । साथै, कर्मचारी हाजिरीमा विवाद सिर्जना गर्ने, रजिष्टार लुकाउने जस्ता कार्य नगरपालिकामा भइरहेका छन् भनेर असन्तुष्टि जनाए ।
खातुनले थपिन्, “तिहार र छठ पर्वको बेला मैले अधिकार अनुसार हस्ताक्षर गरेर सहयोग गरेकी थिएँ, अहिले हाकिमले मनपरि खर्च गर्न खोजिरहेका छन्।”
उनले आरोप लगाइन् कि, रिसइबीका क्रममा आफ्नै औषधि पसलमा आगजनी गरी करोडौंको क्षति पुर्याइएको छ। “कहिले मेयरको गाडी कब्जा गर्ने, कहिले अनावश्यक बहाना गर्ने जस्ता यी सबै घटनाले हामीलाई दुःखी बनाएका छन्,” खातुनले भनिन्।
अन्त्यमा उनले भनिन्, “यी सबै घटनाको मूल्यांकन अब फतुवा बिजयपुर नगरवासीहरूले गर्नुपर्नेछ।”
Sthaniya News
