Breaking News
रामचन्द्र मण्डल पदअनुकूल आचरण नदेखाएको आरोपमा पदच्युत

रामचन्द्र मण्डल पदअनुकूल आचरण नदेखाएको आरोपमा पदच्युत

स्थानीय न्यूज
जनकपुरधाम, मंसिर ०३ गते
मधेश प्रदेशमा जारी राजनीतिक विवादले प्रदेश सभाको शक्ति-सन्तुलन फेरिदैँ जाँदा सभामुख पदमा ऐतिहासिक निर्णय भएको छ। नेकपा एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डललाई प्रदेश सभाले दुई–तिहाइ बहुमतले पदमुक्त गरेको छ। प्रदेश स्थापना पछि सभामुख पदबाट दुई-तिहाइ मतकाे आधारमा पदमुक्त हुने यो पहिलो घटना हो।
मण्डलले ‘पदअनुकूल आचरण नगरेको’ आरोपमा दर्ता भएको प्रस्तावमाथि शुक्रबार भएको मतदानमा ७६ प्रदेशसभा सदस्यले समर्थन जनाएका थिए। यो संख्या तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई–तिहाइ अर्थात् ७२ भन्दा बढी भएकाले प्रस्ताव पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिव बासुप्रसाद कोइरालाद्वारा जारी सूचनाअनुसार, मण्डल नेपालको संविधानको धारा १८२ को उपधारा ६ (खण्ड ग) तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १८२(४) बमोजिम स्वयम् पदमुक्त भएका छन्।
पदमुक्तिको प्रस्ताव प्रमुख प्रस्तावक कुमर कान्त झाले सभामा पेश गरेका थिए। राजनीतिक विवाद, विशेष गरी मुख्यमन्त्री नियुक्ति प्रकरणमा देखिएको तनावका बीच सभामुख मण्डलको भूमिका विवादमा आएको थियो। पदको गरिमा र दायित्वअनुरूप काम नगरेको आरोपसहित दर्ता भएको प्रस्तावले अन्ततः सभामा दुई–तिहाइ समर्थन पाउँदै उनको कार्यकाल समाप्त भएको हो।
सभामुख पद रिक्त भएपछि अब नयाँ सभामुख छान्न प्रदेश सभाले प्रक्रिया अघि बढाउनेछ। मधेश प्रदेशको राजनीतिक समीकरण फेरिएको सन्दर्भमा आगामी दिनमा प्रदेशसभाको भूमिका अझ निर्णायक हुने अनुमान गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*