आरएन पटेल
रौतहट, मंसिर ०७ गते।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा बृहत् संख्यामा नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका छन्। जसपा नेपालद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा विभिन्न दल परित्याग गरी आएका नेताहरूलाई औपचारिक रुपमा पार्टीमा स्वागत गरिएको हो।
कार्यक्रमका क्रममा जिल्ला अध्यक्ष राजीव रंजन यादको सक्रियतामा जनमत पार्टी परित्याग गर्दै बौधिमाई नगरपालिका–६ का वडा अध्यक्षका प्रत्याशी विजय यादव तथा आम जनता पार्टीका बौधिमाई–४ का नेता स्माइल मियाँ जसपा नेपालमा प्रवेश गरे। यस्तै, मधेस प्रदेशका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको पहलमा दुर्गाभगवती गाउँपालिका–१का चन्दन ठाकुरले समेत पार्टी प्रवेश गरे। ठाकुरले हालै शसस्त्र प्रहरी बलमा रहेर राजीनामा दिएका थिए।
जसपाका अनुसार जिल्लाका विभिन्न दलबाट पाँच सयभन्दा बढी नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी प्रवेश गरेका हुन्। फाल्गुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा जसपा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएको पार्टीले जनाएको छ।पचरुखी, दुर्गाभगवती गाउँपालिका–१ मा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए। कार्यक्रमको अध्यक्षता जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवले गरेका थिए।
कार्यक्रममा कांग्रेस, एमाले, नेकपा लगायत विभिन्न दल परित्याग गरी आएका नेता–कार्यकर्तालाई खादा–माला लगाई स्वागत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपेन्द्र यादवले देशमा देखा परेको अन्योल, शासन व्यवस्था र विकासको सुस्त गतिका लागि पछिल्ला तीन दशकदेखि सत्तामा रहेका परम्परागत दलहरू जिम्मेवार रहेको टिप्पणी गरे।
उनका अनुसार देशको अर्थतन्त्र, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अपेक्षित प्रगति हुन नसक्नु गम्भीर चुनौतीका रूपमा देखिएको छ। भ्रष्टाचार, अस्थिर सरकार र नीति–निर्माणमा गम्भीर कमजोरीले जनआस्थामा असर परेको भन्दै उनले मधेस र वञ्चित समुदायको अधिकार सुनिश्चितताका लागि जसपा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, अन्य वक्ताहरूले नवप्रवेशी कार्यकर्ताहरूलाई स्वागत गर्दै समावेशीता, समानुपातिक प्रतिनिधित्व, स्थानीय विकास र मधेसको पहिचान सुदृढीकरणका एजेन्डालाई सशक्त रूपमा अघि बढाउने प्रतिवद्धता दोहोर्याएका थिए।
कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजक जसपा नेपाल रौतहटले जनाएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरी, केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, पूर्व मन्त्री शेख फूलबाबू, केन्द्रीय नेता किशोरी यादव, राष्ट्रियसभा सदस्य पूजा चौधरी, प्रदेश सांसद शोभा देवी, महिला नेतृ किरण ठाकुर, युवा क्रान्तिकारी नेता राजकुमार दासलगायतका नेता-कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
Sthaniya News
