आरएन पटेल, गरुडा, रौतहट, पौष ०२ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहट जिल्ला कार्य समितिले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नं.-४ बाट प्रत्यक्ष तर्फका उम्मेदवारका रूपमा युवानेता राजकुमार दास तत्मालाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

मंगलबार सम्पन्न जसपा नेपाल रौतहट-४ को क्षेत्रीय समन्वय समितिको बैठकले २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि दासलाई पार्टीको आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो। क्षेत्रीय समन्वय समितिको एकल सिफारिसमा जिल्ला समितिले निर्णय गरेको जनाइएको छ।

रौतहटको गरुडा नगरपालिका-९, रघुनाथपुर (शिशवा टोल) निवासी दासलाई जसपा नेपालले पहिलो पटक प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार बनाएको हो। उहाँ पार्टीका पूर्व केन्द्रीय सल्लाहकार समिति सदस्य तथा मधेश प्रदेश अधिवेशनका उपाध्यक्ष पदका उम्मेदवारसमेत रहनु भएको छ।

राजकुमार दास तत्मा राष्ट्रिय तत्मा समाज नेपालका पूर्व राष्ट्रिय अध्यक्ष हुन्। साथै, उहाँ मधेश प्रदेश सरकारअन्तर्गत दलित विकास समितिको सदस्यका रूपमा कार्य गरिसकेको अनुभवसमेत छ। लामो समयदेखि सामाजिक न्याय, दलित तथा सिमान्तकृत समुदायका अधिकार, मुस्लिम, आदिवासी, जनजाति र थारु समुदायका मुद्दामा सक्रिय रहँदै विभिन्न आन्दोलनको नेतृत्व गर्दै आउनु भएका दास संगठन निर्माणमा कुशल र स्पष्ट विचार भएका प्रखर वक्ताका रूपमा परिचित छन्।

जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवका अनुसार, “राजकुमार दास तत्मा स्पष्ट राजनीतिक दृष्टिकोण, सुदृढ संगठनात्मक क्षमता र जनताप्रतिको गहिरो प्रतिबद्धता भएका नेता हुन्। उहाँको उम्मेदवारीले समावेशी लोकतन्त्र, सुशासन र सामाजिक न्यायको सन्देश प्रवाह गर्छ।”
स्थानीय तथा जिल्ला नेतृत्वले दासको नेतृत्वले रौतहट-४ का जनताका समस्या, आवश्यकता र आकांक्षालाई संसदमा प्रभावकारी रूपमा उठाउन सक्ने विश्वास व्यक्त गरेका छन्। पार्टीका अनुसार उहाँ यस क्षेत्रका लागि उपयुक्त र बलियो उम्मेदवार हुनुहुन्छ।
विगतको निर्वाचन परिणामलाई हेर्दा रौतहट-४ मा पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेस विजयी भएको थियो भने एमाले मुख्य प्रतिस्पर्धी थियो। प्रदेश सभातर्फ क्षेत्र नं. ४(ख) बाट जसपा नेपाल र ४(क) बाट तत्कालीन माओवादी केन्द्र निर्वाचित छन्। हाल सबै दल अलग-अलग प्रतिस्पर्धामा उत्रने अवस्था रहेकाले यस पटक जसपा नेपालका उम्मेदवार दासको सम्भावना बलियो देखिएको विश्लेषण गरिएको छ।

यसैबीच, राष्ट्रिय तत्मा समाज नेपाल रौतहट जिल्ला कार्य समितिले दासलाई उम्मेदवार सिफारिस गरेकोमा जसपा नेपालका शीर्ष नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेको छ। संगठनले दलित, सिमान्तकृत तथा अल्पसंख्यक समुदायको हक-अधिकारका लागि दासले पुर्याएको योगदानको उचित मूल्यांकन भएको बताउँदै खुशी व्यक्त गरेको छ।
राजकुमार दास तत्माको उम्मेदवारीले रौतहट मात्र नभई मधेश प्रदेशभर दलित तथा सिमान्तकृत समुदायमा राजनीतिक प्रतिनिधित्व र आशाको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। पार्टी कार्यकर्ताहरूले उहाँको जित सुनिश्चित गर्न संगठनलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

लामो संघर्षपछि पहिलो पटक प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि सर्वसम्मत रूपमा एकल उम्मेदवार चयन भएपछि विभिन्न संघ-संस्था, पार्टी नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूले दासलाई हार्दिक बधाई दिँदै सफल निर्वाचन अभियानको शुभकामना व्यक्त गरेका छन।
Sthaniya News
