आरएन पटेल, रौतहट, पौष २३ गते।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा चिसोबाट जोगाउन अपांगता भएका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको छ। वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा बुधबार एक कार्यक्रम आयोजना गरी वडा कार्यालय परिसरमा वडा भित्रका कुल ४६ जना अपांगता भएका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको हो।

नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत निरन्तर बढ्दै गएको चिसो तथा शीतलहरबाट सबैभन्दा बढी प्रभावित हुने अपांगता भएका व्यक्तिहरूलाई न्यानो प्रदान गर्ने उद्देश्य राखिएको वडा अध्यक्ष पटेलले बताए।

हाल चिसो मौसम र शीतलहरका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका व्यक्तिहरू जोखिममा परिरहेको अवस्थामा उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कम्बल वितरण गरिएको उहाँको भनाइ छ। वडाका सम्पूर्ण अपांगता भएका व्यक्तिहरूलाई चिसोबाट बचाउन यस किसिमको सहयोग निरन्तर जारी रहने समेत वडा अध्यक्ष पटेलले जानकारी दिएका छन।

Sthaniya News
