रौतहट, माघ २ गते
पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटस्थित महादेव मन्दिर शिवनगरमा दर्शन गरि पूजाआजा गरेका छन्। जिल्लाको सुप्रसिद्ध धार्मिक स्थल गरुडा नगरपालिकाको वडा नं.५ स्थित रहेको शिवनगरधामको महादेव मंदिरमा दर्शन गर्नुको साथसाथै पुजाआर्चना समेत गर्नु भएको थियो । करिब ३ बजे शिवनगर पुगेका पूर्व राजा ज्ञानेन्द्र चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए।
पूर्व राजा शाहलाई स्वागतको क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए। उनले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए।
पूर्व राजा शाह मन्दिर पुगी वैदिक परम्परा अनुसार भगवान शिवको रुद्राअर्चन पूजा मन्दिरका पुजारी महन्थ लगायत बिरगंज महानगरपालिका – १५ भिष्वा बस्ने काशी हिन्दू विश्वविद्यालय (B.H.U.) बनारसको विद्वान आचार्य पंडित ओमप्रकाश उपाध्याय र वहाको आचार्यहरुको टोलीद्वारा विधिवत रुपमा भगवान शिवको समर्पित दूध, दही, घ्यू, मिश्री, भष्म लगायतको पूजन सामग्रीद्वारा पूजन कार्य गरि धूप दीपद्वारा आरती गरि पूजा सम्पन्न गरिएको थियो ।
उनले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजा आउ देश बचाउ भनेर नारा लगाएका थिए। पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो उपस्थिति रहेको थियो। राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले उक्त कार्यक्रम आयोजना गरेको थियो ।