सर्लाही, पौष २० गते ।
सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी भएको छ । बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

शुक्रबार बेलुकी साढे ५ बजेदेखि भोलि शनिबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए ।

उनका अनुसार बरहथवा नगरपालिकाको सीमाभित्र पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलमा कर्फ्यू लागू हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षित कर्फ्यू आदेश पत्रमा उल्लेख गरिएको छ ।
Sthaniya News
