Breaking News
मधेशमा शिक्षा सुधारका लागि आजपा मधेश प्रदेश कमिटीको बैठक सम्पन्न ।

मधेशमा शिक्षा सुधारका लागि आजपा मधेश प्रदेश कमिटीको बैठक सम्पन्न ।

प्रदिप कुमार दास, रौतहट ।
भदौँ २४ गते,सोमबार ।
मधेश प्रदेशमा गुणस्तरीय शिक्षाको लागि शिक्षक दरबन्दी सुनिश्चितता, शैक्षिक सुधार, र संगठन विस्तारका विषयलाई केन्द्रमा राखेर आम जनता पार्टी (आजपा) को मधेश प्रदेश कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकको अध्यक्षता आजपा मधेश प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहाले गरेका थिए भने पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको प्रमुख आतिथ्य रहेको थियो। बैठकको आयोजन बिरगंजमा गरिएको थियो जसमा विभिन्न उच्च पदाधिकारीहरू, नेता कार्यकर्ता, र विद्यार्थी मोर्चाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

बैठकमा मधेश प्रदेशका पार्टीका महत्वपूर्ण नेताहरू, जसमा वरिष्ठ उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह, सचिव बाबुराम कौशीक, पार्टी स्थाई कमिटिका सदस्यहरू नरेश तुरहा, बबिता साह, सिमल साह, सरोज चौधरी, अन्जित कुशवाहा, बिजय यादव, र बिभिन्न जिल्लाका पार्टी अध्यक्षहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संचालक श्री भगवान पटेल र स्वागत मन्तव्य पप्पु साहले व्यक्त गरेका थिए।

बैठकमा मधेशका जिल्लाहरूमा आगामी दिनहरूमा संघर्ष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकले घोषणा गरेको संघर्षका कार्यक्रमहरूमा, संविधानको अन्त्येष्टि यात्रादेखि शैक्षिक सुधारका लागि आम हड्तालसम्मका विभिन्न चरणको संघर्ष कार्यक्रम समेटिएको छ। यसका लागि विभिन्न समय तालिका र कार्ययोजना तयार गरिएको छ, जसमा निम्न निर्णयहरू गरिएका छन्:

—–संघर्षका कार्यक्रमहरू——

१) भदौ २५ देखि ३० गतेसम्म – मधेश प्रदेशका प्रत्येक विद्यालयमा संघर्ष समिति गठन गर्ने निर्णय गरिएको छ। यस संघर्ष समितिले विद्यालयस्तरमा शैक्षिक सुधारका लागि पहल गर्ने, शिक्षक दरबन्दी व्यवस्थापनमा ध्यानाकर्षण गराउने र विद्यालय व्यवस्थापनसँग समन्वय गर्ने कार्यहरू गर्नेछ।

२) असोज २ देखि ४ गतेसम्म – विद्यार्थीहरूको विशेष प्रदर्शन गरिनेछ। यस क्रममा विद्यार्थीहरूले गुणस्तरीय शिक्षाको माग गर्दै तथा शिक्षामा समानता र न्यायको विषयमा आफ्नो आवाज उठाउनेछन्। प्रदर्शनको मुख्य उद्देश्य शिक्षामा भएका असमानता र समस्याहरूलाई उजागर गर्नु र त्यसका समाधानका लागि दवाव सिर्जना गर्नु रहेको छ।

३) असोज ३ गते – संविधान अन्त्येष्टि यात्रा प्रत्येक जिल्लामा निकालिने निर्णय गरिएको छ। विशेषतः विरगंज र जनकपुरमा विशेष प्रदर्शनको आयोजना गरिनेछ। संविधानको अन्त्येष्टि यात्राले संविधानले मधेशका जनताको समस्या समाधान गर्न नसकेको सन्देश दिने उद्देश्य राखिएको छ।

४) असोज ९ देखि २० गतेसम्म – प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिनेछ। यस अन्तरक्रियामा शिक्षा विभागका प्रतिनिधिहरू, शिक्षक संघहरू, अभिभावक संघ, र स्थानीय तहका प्रतिनिधिहरूबीच छलफल हुनेछ।

५) कार्तिक ५ गते – शैक्षिक आम हडतालको आह्वान गरिनेछ। यस हडतालको मुख्य उद्देश्य शिक्षामा भएका समस्याहरूको समाधान नगरेसम्म कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्ने चेतावनी दिनु रहेको छ। हडताल सफल बनाउन आम जनता, विद्यार्थी, शिक्षक र विभिन्न संघसंस्थाहरूलाई समेटेर व्यापक जनसहभागिता सुनिश्चित गरिनेछ।

बैठकको क्रममा आजपाका नेताहरूले मधेश प्रदेशमा गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि ठोस कदम चाल्नु पर्नेमा जोड दिएका छन्। विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको विषयलाई गम्भीरतापूर्वक लिएर सरकारले आवश्यक शिक्षक दरबन्दी व्यवस्था नगरेकोमा गम्भीर आपत्ति प्रकट गरिएको छ। बैठकले शिक्षामा सुधारका लागि सबै पक्षसँग सहकार्य गर्ने, तर आवश्यक परेको खण्डमा संघर्षका कार्यक्रम पनि अगाडि बढाउने निर्णय गरेको छ।

बैठकमा संगठन विस्तारको सवालमा पनि चर्चा गरिएको थियो। संगठनलाई अझ सुदृढ बनाउन, पार्टीलाई गाउँ तहदेखि प्रदेश तहसम्म सक्रिय बनाउन र नयाँ सदस्यहरूको समावेशीकरण गर्ने निर्णय गरिएको छ।

आजपा मधेश प्रदेश कमिटीको यस बैठकले शैक्षिक सुधारका लागि नयाँ आशा जगाएको छ भने घोषणा गरिएका संघर्ष कार्यक्रमहरूले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विश्वास गरिएको छ। बैठकको अन्त्यमा पार्टीका विभिन्न सदस्यहरूले आफ्नो धारणा राख्दै संघर्ष कार्यक्रमलाई सफल बनाउन एकजुट हुनुपर्नेमा जोड दिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*