रौतहट।
माघ १४ गते।
अनलाइन सिफारिश सेवा गौर नगरपालिकाले सुचारु गरेको छ। रौतहट जिल्लाको गौर नगरपालिकाले गृह मन्त्रालयद्वारा सञ्चालित केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली नागरिकता सिफारिस सेवा अनलाइनमार्फत सुरु गरेको हो।
ऑनलाइन सेवा सुरु गर्ने गौर नगरपालिका रौतहट जिल्लाको पहिलो नगरपालिका बनेको छ । गौर नगरपालिकाको वडा नं. ६ र ९ बाट यो सेवा सुरु गरिएको हो । प्रणालीमार्फत वडाहरूले अनलाइनमार्फत नागरिकता सिफारिस गर्ने प्रक्रियालाई छरितो, सरल, र प्रभावकारी बनाउन मद्दत गर्नेछ । नागरिकहरूले यसबाट लामो प्रक्रियालाई छोट्याउँदै डिजिटल प्रविधिको फाइदा लिन सक्नेछन् ।
कार्यक्रममा पहिलो अनलाइन सिफारिस वडा नं. ६ निवासी सिमा कुमारीलाई प्रदान गरिएको छ । गौर नगरपालिकालाई डिजिटल युगतर्फ उन्मुख गराउँदै नागरिक सेवा सरल बनाउन सहयोग पुर्याएका छन् । यस प्रणालीले सबै नागरिकका विवरणहरू व्यवस्थित रूपमा राख्न, अद्यावधिक गर्न र आवश्यक परेमा छिटो उपलब्ध गराउन विशेष योगदान पुर्याउने छ । रौतहट जिल्लाको जिल्ला प्रशासन कार्यालयसम्म सिफारिस पुर्याउने प्रक्रिया अब डिजिटल माध्यमबाट हुनेछ । यसले लामो प्रशासनिक झन्झट हटाउँदै, नागरिकलाई सहज र छिटो सेवा प्राप्त हुने सुनिश्चित गरिने छ ।
गौर नगरपालिकाको वडा नं. ९ का वडा अध्यक्ष अर्जुन सिंहले उद्घाटन समारोहको नेतृत्व गर्दै अनलाइन सिफारिस प्रणालीको औपचारिक सुरुवात गरेका थिए । उनले यो प्रणालीले नागरिकता प्राप्तिको जटिलतालाई हटाउँदै नागरिकलाई थप सहजता दिने उल्लेख गरे । साथै, यो सेवा सञ्चालनमा ल्याउन गौर नगरपालिकाका कर्मचारीहरूको अथक प्रयास रहेको उनले बताए ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, सूचना प्राविधि अधिकृत रौशन श्रीवास्तव, र कानुन अधिकृत धीरज कुमार लाल दासको विशेष भूमिका रहेको थियो । उनीहरूले यस प्रणालीको प्रभावकारिता र यसको दीर्घकालीन महत्त्वबारे आफ्नो विचार प्रस्तुत गरे ।
गौर नगरपालिकाले यो कदममार्फत प्रशासनिक प्रक्रियालाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउँदैछ । अनलाइन प्रणाली लागू भएपछि नागरिकहरूले वडामा गई कागजी प्रक्रिया पुरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने छन् । यसले समय, स्रोत र श्रमको बचत हुने छ । साथै, नागरिकता सिफारिसमा पारदर्शिता र विश्वसनीयता सुनिश्चित हुने छ । स्थानीय नागरिकहरूले सेवाप्रति उत्साह देखाएका छन् । अनलाइन प्रणालीमार्फत सेवा लिन सजिलो हुने, प्रशासनिक भ्रष्टाचार न्यूनीकरण हुने, र आफ्नो काम समयमै हुने आशा उनीहरूले व्यक्त गरेका छन् ।
गौर नगरपालिकाले प्रणालीका अतिरिक्त अन्य डिजिटल सेवाहरू पनि थप गर्दै लैजाने योजना बनाएको छ । नगरपालिकाका सबै वडाहरूलाई क्रमश प्रणालीमा समेट्ने र सेवाको दायरा विस्तार गर्ने तयारी भइरहेको जानकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले दिए । गौर नगरपालिकाको यो डिजिटल कदमले स्थानीय प्रशासनलाई थप प्रभावकारी बनाउँदै नागरिकहरूका लागि अत्यावश्यक सेवा छिटो र पारदर्शी बनाउने विश्वास गरिएको छ ।