रौतहट, माघ २९ गते।
नेपाल सरकारको गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रौतहटका दलित अभियन्ताहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय काठमाडौँ र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय जनकपुरलाई ज्ञापन पत्र बुझाएको छ ।
गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार गरेको भन्ने घटना बाहिर आए लगत्तै सोको विरुद्धमा हरेक जिल्लाबाट बिरोध,प्रदर्शन तथा हरेक जिल्लाका प्रमुखलाई ज्ञापन पत्र बुझाएर सरकारलाई चेतावनी दिने कार्य भइरहेको हो ।
सोही क्रममा रौतहटका दलित अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय पुगी, प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेता पनि व्यवहारमा लागू न भएको भन्दै, सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेम विवाह गरेकै कारण गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा ज्यादती गरिएको र विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग भएको उल्लेख छ।
ज्ञापन पत्र बुझाउनु भन्दा अगाडि अभियन्ताहरूले दलित नागरिक माथि हुने जातीय भेदभावको अन्त्य गर्न सरकार गम्भीर बनोस्, अन्तरजातीय विवाह गर्नेहरूमाथि सबै खालको भेदभाव बन्द गरियोस्, दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही माग, दलित हिंसा गर्ने गृहमन्त्री भन्दै राजीनामाको माग सहित नाराबाजी गर्दै गौर परिक्रमा गरेर अभियन्ताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए।