रौतहट, माघ २९ गते।
मिडिया काउन्सील, समाजिक संजाल विधेयकको विरोधमा रौतहटका संचारकर्मीहरुद्वारा प्र.जि.अ.लाई ज्ञापन पत्र बुझाईएको छ। नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सील, समाजिक संजाल विधेयक लागु भएमा मुलुकमा नयाँ तानाशाह उत्पन्न हुने भन्दै रौतहटका संचारकर्मीहरुले विधयेकको खारेजीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
श्रमजीवी पत्रकार संघ रौतहटको ब्यानरमा रौतहट सदरमुकाम गौरको बीपी चोकबाट मंगलवार दिउसो ३.३० बजेको समयमा संचारकर्मीहरु मुखमा कालो टेप टाँसी विभिन्न प्ले कार्ड बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका हुन ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत मनिष झालाई ज्ञापन पत्र बुझाउदै सरकारले मिडिया काउन्सीललाई संकुचित पार्नका निमित्त यस्ता विधेयक ल्याउन लागेको गम्भीर आरोप लगाए ।
संचारकर्मीहरु मुखमा कालो टेप टाँसेर मौन जुलुश निकाल्दा सरकारलाई लाज लाग्नुपर्ने हो, अभिव्यक्ति स्वतन्त्रताका लागि यत्रो बलिदानी पश्चात आएको संघिय लोकतान्त्रिक गणतन्त्रमा मिडिया माथि अंकुश लगाएर सरकार तानाशाह बन्न खोजिएकोमा गम्भीर आपत्ती जनाउदै अविलम्ब उक्त विधेयकलाई खारेजी गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको सन्देश दिन साँकेतिक रुपमा विरोध जनाउदै ज्ञापन पत्र बुझाइएको श्रमजीवी पत्रकार संघका जिल्ला अध्यक्ष सन्तोष पौडेलले बताए ।
उक्त विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबीन्द्र प्रसाद साह सहित श्रमजीवि पत्रकार संघका पदाधिकारीहरु तथा संघ बाहिरका संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।