आरएन पटेल
राैतहट,साउन २० गते।
तहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन गरिएको छ। उखु किसानहरू आफ्नो जायज हकका लागि फेरि सडकमा उत्रिएका छन् । रौतहटको डुमरिया स्थित श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज अगाडि मंगलबार उखु उत्पादक संघ रौतहटको नेतृत्वमा किसानहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।
संघका अध्यक्ष अशोक यादवको नेतृत्वमा प्रदर्शनमा उत्रिएका किसानहरूले “सरकारले दिने भनिएको अनुदान तुरुन्त उपलब्ध गर, ७० रूपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दे, अनुदानमा गरिएको ३५ रूपैयाँ कटौती खारेज गर” भन्ने नारासहित आक्रोश पोखेका थिए ।
कटहरिया नगरपालिका–९ डूमरियास्थित मिलको मूलगेट अगाडि गरिएको प्रदर्शनमा किसानहरूले सरकार, उद्योग र व्यापारी त्रिपक्षीय वार्ता गरी आर्थिक वर्ष २०८२/८३ को उखु मूल्य निर्धारण र बाँकी अनुदान भुक्तानी गर्न माग गरेका छन् ।
किसान नेताहरूको चेतावनी: “माईतीघर मण्डलामा धर्ना दिन्छौं”
प्रदर्शनका क्रममा बोल्ने अधिकांश नेताहरूले सरकारका बेवास्ता नीतिका विरुद्ध राजधानी केन्द्रित आन्दोलनको चेतावनी दिएका छन् । नेपाली कांग्रेसका कुमार चौलागाई, एकीकृत समाजवादीका रामभरोस यादव, जसपाका राजकुमार दास तत्मा र संघ अध्यक्ष अशोक यादवले सरकारलाई तत्काल समस्या सम्बोधन नगरे राजधानीमा आन्दोलन चर्काउने बताए ।
उनीहरूले किसानका माग सम्बोधन नगरेको खण्डमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिए । संघले भदौ ८ गतेदेखि काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिने कार्यक्रम घोषणा गरिसकेको छ ।
चिनी उद्योगसमेत चिन्तित
प्रदर्शनमा उद्योग सञ्चालकको आवाज पनि मिसिएको छ । बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले सरकारले अनुदान नदिए किसानहरूले उखु उत्पादन घटाउने सम्भावना रहेको बताए । त्यसले गर्दा चिनी उद्योगहरू ५० प्रतिशत मात्र क्षमतामा चल्न बाध्य छन् यसले झन घाटा झेल्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
“सरकारले ७० रूपैयाँमा कटौती गर्दै ३५ रूपैयाँ मात्र दिने निर्णय गरेको छ जुन किसानलाई स्वीकार्य छैन,” उनले भने, “यस आर्थिक वर्षदेखि त पूर्ण अनुदान नै हटाइएको छ। त्यसैले किसान आक्रोशित छन्।”
१ अर्ब ६० करोडको अनुदान अझै बाँकी
संघका अनुसार आर्थिक वर्ष २०८१/८२ को उखु अनुदानअन्तर्गत करिब १ अर्ब ६० करोड रुपैयाँ सरकारसँग बाँकी रहेको छ । चिनी उद्योगहरूले किसानलाई भुक्तानी गरिसकेको भए पनि सरकारी अनुदान रोकिएको किसानहरूको गुनासो छ ।
नेपाल उखु उत्पादक महासंघको सर्लाही हरिवनमा बसेको बैठकपछि त्रिपक्षीय वार्ता र बाँकी अनुदान तुरुन्त भुक्तानी गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो । पहिलो चरणमा साउन १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाइएको थियो भने साउन २० गते आज चिनी मिल अगाडि प्रदर्शन गरिएको हो।
संघले सरकारले माग सुनुवाइ नगरे चरणबद्ध आन्दोलन गर्दै जनदबाब सिर्जना गर्ने बताएको छ।
यो आन्दोलनले फेरि एक पटक सरकार, उद्योग र किसानबीचको सम्बन्धलाई पुनः परीक्षणमा ल्याएको छ । किसानको माग तत्काल सम्बोधन नभए, देशव्यापी आन्दोलन चर्किने संकेत मिलेको छ ।
Sthaniya News
