Breaking News
रौतहट लगायत मधेशभर तीजको तयारी : संस्कार, संस्कृति र महिलाको आत्मबलको रुपमा तीज

रौतहट लगायत मधेशभर तीजको तयारी : संस्कार, संस्कृति र महिलाको आत्मबलको रुपमा तीज

रौतहट, भदौ ०९ गते।
रौतहट सहित मधेशभर यस वर्षको तीज पर्वलाई भव्य र श्रद्धापूर्वक मनाउने तयारी भइरहेको छ। हिन्दु नारीहरूको महान चाड मानिने तीज यस वर्ष २०८२ भदौ १० गते, मङ्गलबार पर्न गएको छ। तयारी चरणमै बजार, गाउँ र टोल-टोलमा तीजको रौनक छाएको देखिएको छ।


रौतहटको गौर, गरुडा, कटहरिया बजारदेखि समनपुर, चन्द्रपुर तथा सर्लाहीको लालबन्दी, हरिवन, बरहथवा र मलंगवा सम्म महिलाहरू तीज पर्वको तयारीमा व्यस्त छन्। बजारमा रातो साडी, हरियो चुरा, पोते, मेहन्दी र श्रृङ्गारका सामान किन्नेको भीड बढेको छ।

पौराणिक मान्यता अनुसार देवी पार्वतीले भगवान् शिवलाई वर पाउनका लागि कठोर साधना गर्नुभयो। १०८ जन्मसम्म प्रयास गरेपछि अन्ततः तीजको दिन निराहार व्रत र अटुट श्रद्धाले उहाँले शिवलाई वर पाउन सफल हुनुभएको थियो। त्यसैबेलादेखि तीज पर्वलाई भक्ति, विश्वास र आत्मबलको प्रतीकका रूपमा मनाउने परम्परा सुरु भएको हो।


विवाहित महिलाले पतिको दीर्घायु र परिवारको सुख-शान्ति र समृद्धिको कामना गर्दै तीज व्रत गर्ने गर्छन भने
अविवाहित युवतीहरूले मनचाहा वर पाउन शिव-पार्वतीको आराधना गर्छन।
तीज पर्वले महिलालाई आत्मबल, त्याग र संस्कार सिकाउँछ। यस पर्वमा महिलाहरू हरियो र रातो पोशाकमा सजिएर बिहान सबेरै शिवालय पुग्ने र दिदीबहिनीहरूको सामूहिक नृत्य-संगीतले वातावरण झन् उल्लासपूर्ण हुने देखिन्छ ।
आजको सन्दर्भमा तीजलाई केवल धार्मिक पर्व मात्र नभई महिला सशक्तिकरण र संस्कृतिको जगेर्ना गर्ने माध्यमका रूपमा पनि हेरिन्छ। तीजले दिदीबहिनीहरूलाई भेटघाट गर्ने अवसर दिन्छ, गाउँ-समाजमा एकता र सहकार्य फैलाउँछ, अनि नयाँ पुस्तामा परम्पराको महत्व सम्झाउँछ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*