स्थानीय न्यूज,महोत्तरी, कार्तिक ४ गते।
महोत्तरी जिल्लाकाे पिपरा गाउँपालिका–१ ऐकरहियामा काली पूजाको शुभ अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले समाजमा सकारात्मक सोचको खाँचो रहेको बताउँदै त्यसको प्रवाह गर्न सबै जनसमुदायलाई आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री सोनलले आफ्नो सम्बोधनमा भन्नुभयो, “सकारात्मक सोचले मात्रै जातपात, छुवाछूत र भेदभावजस्ता समाजमा जरा गाडेर बसेका कुरीतिहरूलाई अन्त्य गर्न सक्छ। समाज रूपान्तरणको लागि सोच बदल्नु अत्यावश्यक छ ।” उहाँले सचेत नागरिकहरूले सही बाटो पहिल्याउँदै समाजलाई समावेशी र समतामूलक बनाउने दिशामा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री सोनलले पूजा आयोजक समिति तथा समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्ने अगुवाहरुलाई सम्मानसमेत गर्नुभएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा लोसपाका नेता अजय झा, सुशील राउत, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र ठूलो संख्यामा स्थानीयको भव्य उपस्थिति रहेको थियो ।
कार्यक्रमले धार्मिक तथा सांस्कृतिक एकताको सन्देश दिने मात्र होइन, सामाजिक चेतनाको प्रवाह गर्दै समावेशी सोचको महत्वलाई पनि थप प्रस्ट्याएको सहभागीहरूको भनाइ थियो ।
Sthaniya News
