स्थानीय न्यूज, राैतहट, कार्तिक ३० गते।
रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहलमा रौतहटका सीडीओलाई ज्ञापनपत्र बुझाईएको छ। जिल्लामा बढ्दो लागू औषध दुर्व्यसनको जोखिमप्रति चिन्तित युवाहरूले सोमबार गौरस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसाललाई औपचारिक ज्ञापनपत्र बुझाएका छन् ।
जेनजी नेपालका युवाहरूको अगुवाइमा सम्पन्न कार्यक्रममा गाउँ-सहरमा तीव्र हुँदै गएको नशा समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै विद्यालय तथा कलेजस्तरमा व्यापक सचेतना अभियान सञ्चालन, समुदायमा निगरानी सुदृढीकरण, स्थानीय प्रशासन-प्रहरी-सशस्त्रबीच समन्वय बलियो बनाउने, लागू औषध कारोबारमा संलग्नमाथि कडा कारबाही तथा प्रभावित युवाका लागि पुनर्स्थापना र मनोसामाजिक परामर्श केन्द्र स्थापना जस्ता मागहरू अघि सारिएको थियो ।
शैलेन्द्र यादव, अरुण पटेल, सुबोध पासवान, पूजा कुमारी, भुनेश्वर यादव, मुनावर आलमलगायत दर्जनौँ युवाहरूको सक्रिय सहभागितामा सम्पन्न अभियानले स्थानीयस्तरमा चेतना र दबाब सिर्जना गर्न प्रभावकारी भूमिका खेलेको आयोजकहरूले बताएका छन् ।
ज्ञापनपत्र ग्रहण गर्दै सीडीओ दिनेश सागर भुसालले युवाहरूको पहललाई प्रशंसनीय भन्दै समस्याको समाधानतर्फ आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
युवाहरूको यस्तो जागरण र सक्रिय सहभागिता समाजलाई नशामुक्त बनाउन महत्वपूर्ण प्रेरणाका रूपमा देखिएको छ ।
Sthaniya News
