Breaking News
बौधिमाईको मटिअर्वा सडकमा ‘रहर बाली’का कारण दुर्घटना जोखिम बढ्दै, तीन जना घाइतेसमेत

बौधिमाईको मटिअर्वा सडकमा ‘रहर बाली’का कारण दुर्घटना जोखिम बढ्दै, तीन जना घाइतेसमेत

स्थानीय न्यूज
रौतहट, कार्तिक ३० गते।
बौधिमाई नगरपालिकाको भोवाली चौकदेखि मटिअर्वातर्फ जाने कालोपत्रे सडकखण्डमा सडकको दुई किनारमा मनोज्ञानपूर्वक लगाइएका ‘रहर बाली’का कारण दुर्घटना जोखिम अत्यधिक बढेको स्थानीयले बताएका छन्। सडकको भौतिक संरचना ढाकिनेगरी फैलिएको रहर बालीले यात्री तथा सवारी चालकलाई बाटो स्पष्ट देख्न नदिँदा पटक – पटक सवारी दुर्घटना भइरहेका छन्।


यस्तै, कार्तिक २८ गते शुक्रबार पनि भोवाली चौक नजिकै दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा तीन जना घाइते भएका थिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर-०५एजे-५४१९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर-०५पी-५५४५ नम्बरको मोटरसाइकल रहर बालीका कारण बाटो प्रष्ट नदेखिएपछि एक-आपसमा ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताए।
दुर्घटनामा परेकामध्ये बीआर-०५पी-५५४५ का चालक धिरज पण्डित र पछाडि बसेकी चन्चल कुमारी तथा अर्को मोटरसाइकलका चालक नीरज पटेल घाइते भएका हुन्। तीमध्ये पण्डित र पटेलको टाउकोमा गम्भीर चोट लागेकाले उनीहरूलाई तत्कालै वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारका लागि पठाइएको घाइते धिरजका अभिभावक अर्जुन पण्डितले बताए।
सडक छेउका जग्गाधनीहरूले क्षणिक आर्थिक फाइदाको आशामा सडकको किनारमै रहर बाली लगाउँदै आइरहेकाले दुर्घटना क्रम नथमिएको स्थानीयको गुनासो छ। “रहर बालीले सडक ढाकिदिँदा चालकलाई दायाँ-बायाँ हेर्नै सकिँदैन, यही कारणले पटक-पटक दुर्घटना भइरहेछ,” स्थानीय पण्डितले बताए।
यसअघि पनि सोही सडक खण्डमा रहर बालीकै कारण मोटरसाइकल दुर्घटना भई स्थानीय शिक्षकलाई लाखौँको क्षति पुगेको थियो। निरन्तर रूपमा दुर्घटना भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
उनका अनुसार, बौधिमाई नगरपालिका, मौलापुर नगरपालिका, प्रहरी प्रशासन तथा सडक डिभिजन कार्यालयले तत्कालै स्थलमै गई समस्या समाधानतर्फ कदम चाल्नुपर्ने आवश्यकता छ। “सडक सुरक्षामा लापरबाही गर्न मिल्दैन। स्थानीय जनप्रतिनिधि र प्रशासन अब फुर्सदिला भएर होइन, जिम्मेवारीसहित सक्रिय हुनुपर्ने बेला आएको छ,” स्थानीयहरूले चेतावनी दिएका छन्।


सडक सुरक्षा जोखिम बढाएको रहर बाली तत्काल हटाई पुनः यस्तो कार्य रोक्न कडाइ गरिएमा दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्ने सरोकारवालाको भनाइ छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*