Breaking News
गरुडामा नागरिक दबाबः  रौतहट जिला अध्यक्ष तेज नारायण यादवको अगुवाइमा इलाका प्रहरी कार्यालय अगाडि धर्ना

गरुडामा नागरिक दबाबः  रौतहट जिला अध्यक्ष तेज नारायण यादवको अगुवाइमा इलाका प्रहरी कार्यालय अगाडि धर्ना

रबिन्द्र पटेल
रौतहट,(गरुडा) मंसिर २२ गते।
आर्थिक शोषण, बैंक तथा लघुवित्त पीडितको समस्या, बेरोजगारी र भ्रष्टाचारविरुद्ध नागरिक बचाउ महाअभियान नेपालका जिल्ला अध्यक्ष तेज नारायण यादवको अगुवाइमा आज गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा किसान, मजदुर, साना व्यापारी, सहकारी तथा लघुवित्त पीडितलगायत विभिन्न वर्गका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मागपत्रसहितका प्लेकार्ड बोकेर सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
धर्नामा नागरिक बचाउ महाअभियानले २६ बुँदे माग अघि सारेको छ। ती मागहरूमा २० लाख रुपैयाँभन्दा कम ऋण लिएका नागरिकहरूको कर्जा मिनाहा गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा राख्ने व्यवस्था खारेज गर्नुपर्ने, लघुवित्त र सहकारी पीडितलाई तत्काल राहत दिनुपर्ने, किसानलाई पर्याप्त अनुदान सुनिश्चित गर्नुपर्ने माग प्रमुख छन्।
त्यस्तै, घरजग्गामा जबरजस्ती सिलबन्दी गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, पत्रकारमाथि भएका दमन तथा दुर्व्यवहार घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्ति तथा निकायमाथि कडा कारबाही गर्नुपर्ने, युवालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग पनि मागपत्रमा समेटिएको छ।
धर्ना कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष तेज नारायण यादवले वर्तमान आर्थिक नीति तथा राज्य संरचनाको कमजोरीका कारण आम नागरिक थप पीडित बन्दै गइरहेको बताए। उनले नागरिकका माग तुरुन्त कार्यान्वयन नभए आन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी बनाइने चेतावनी दिए।
कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। इलाका प्रहरी कार्यालय गरुडाले सुरक्षा व्यवस्थापन मिलाएको जनाएको छ। कुनै अप्रिय घटना नभई कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ।
नागरिक बचाउ महाअभियान नेपालले यो आन्दोलन कुनै राजनीतिक दल वा व्यक्ति विरुद्ध नभई आम नागरिकको हक, अधिकार र सामाजिक न्यायका लागि भएको स्पष्ट पारेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*