आरएन पटेल
रौतहट, मंसिर २२ गते।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादव गृह जिल्ला रौतहटको कटहरिया बजारमा भव्य स्वागत तथा सम्मान गरिएको छ। नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.३ रौतहट द्वारा आयोजना गरिएको उक्त सम्मान कार्यक्रमको अध्यक्षता कटहरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सरफलाल गुप्ताले स्वागत मन्तव्य राखेका थिए।
उक्त सम्मान कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री यादवले बेथिति हटाउँदै सुशासन कायम गर्ने प्रतिबद्धता गरेका छन। रौतहटले मुख्यमन्त्री पाएको अवसरमा सम्पूर्ण रौतहटबासी लगायत क्षेत्रबासीहरू खुशी व्यक्त गर्दै मुख्यमन्त्री यादवलाई दोसल्ला ओढाई तथा माला लगाई भव्य स्वागत सहित कार्यकाल सफलताको शुभकामना दिएका छन।
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा बेथिति रहेकाले बेथिति हटाउँदै सिस्टममा ल्याउने र सुशासन कायम गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । स्वागत तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उहाँले मधेश प्रदेशमा चुनौतीको चाङ्ग रहेको बताउनुभयो ।
हरेक चुनौतीलाई सामना गर्दै प्रदेशको विकासको लागि निरन्तर अगाडि बढ्ने उहाँले बताउनुभयो । विकास निर्माणका रोकिएका योजना अगाडि बढाउने देखि लिएर मधेश प्रदेशका नागरिकलाई अनुभूति हुने गरि नयाँ योजना, नयाँ रणनिति ल्याउने उहाँले बताउनुभयो ।
मधेशका अधिकांश जनता कृषिमा निर्भर रहेकोले कृषिलाई मुख्य प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा वर्तमान सरकार दिन रात काम गरेर सकारात्मक प्रतिफल दिने मुख्यमन्त्री यादवले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिलेको छ दलिय गठबन्धन बलियो रहेको र गठबन्धन आउने निर्वाचन सम्म एकजुट रहने उहाँले दाबी गर्नुभयो । गठबन्धनको सरकार रहेकोले मन्त्रिपरिषद् बिस्तार मुख्यमन्त्री एक्लैले नगर्ने भएर छ दलीय गठबन्धनमा छलफल गरेर चाँडै टुङ्ग्याउने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा मधेश प्रदेशको पूर्व अर्थमन्त्री सुनील यादव जितेन्द्र, सांसद प्रत्याशी ओमप्रकाश जयसवाल, गरुडा नपाको मेयर प्रत्यासी सुनील यादव लगायत पार्टीका नेता कार्यकर्ता, शिक्षक कर्मचारी तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।
Sthaniya News
