Breaking News
लेखन :चेतनाको व्यवस्थित सङ्कलन

लेखन :चेतनाको व्यवस्थित सङ्कलन

 

सञ्जय साह मित्र

लेखन निसन्देह चिन्तनको उपज हो, अध्ययनको परिणति र अनुभूतिको परिपाक हो । अध्ययन र अनुभवबाट प्राप्त ज्ञानलाई लेखेर राख्ने चलन छ । पहिलेदेखि पनि यही भइआएको हो । ठुला विद्वानहरुले आफ्नो अध्ययन र अनुसन्धानलाई सूत्रबद्ध गरे । सोही अवस्थामा पनि कतिपयले लेखन काम गर्नेलाई आफ्नो घमण्डको प्रदर्शन वा लोकप्रियताको भोको ज्ञानी भन्ने आरोप लाग्ने गरेको पाइन्छ । यसबाट यो पनि बुझ्न सकिन्छ कि जुन जमानामा ग्रन्थहरुको रचना भए वा वर्तमानमा पनि भइरहेको छ कि लेखन काम गर्नेहरु मात्र विद्वान थिएनन् वा होइनन् । त्यत्ति वेला पनि केही अति विद्वानहरु थिए जसले आफ्नो ज्ञानलाई लिपिबद्ध गरी सार्वजनिक गर्न चाहेनन् । कालान्तरमा मानिसहरुले ती बिर्सिइसके अर्थात् आफ्नो ज्ञानलाई लिपिबद्ध गर्न नसक्दा कतिपय ज्ञान हरायो होला वा कतिपय चाहिँ श्रुत परम्परामा गएर परिवर्तन हुँदै आएको होला र पछि मात्र लिपिबद्ध भएको होला । जसले लिपिबद्ध ग¥यो, नाम उसैको हुने भयो । यस अर्थमा कतिपय ज्ञान एक जनाको र नाम अर्को जनाको पनि भएको हुन सक्छ जसर्ला अब छुट्याउन सम्भव छैन ।
ज्ञानलाई लिपिबद्ध नगर्दा धेरै ज्ञानीहरु वर्तमानमा पनि आफूभन्दा चर्चामा अरुलाई रहेको पाउँछन् । जब तिनको बारेमा केही राम्रो ती ज्ञानी मानिसले सुन्दछन् तब रिसले मुर्मुराउँछन् । हुन त रिसले आफूलाई डढाउनु ज्ञानीको धर्म होइन तर माननीय गुण ईष्र्याले छोप्न पुग्छ होला । यसैले आत्मप्रकाशनको माध्यम भने रोज्नुपर्छ । आत्मप्रकाशनको अर्थ हो, आफूलाई प्रकाशन । आफूमा भएको ज्ञान अरुलाई बाँड्ने काम लेखनबाट सम्भव छ । भिडियो सन्देशहरु पनि जारी गरेर आफ्ना कुरा प्रभावकारी रुपमा राख्न सकिन्छ । भिडियोमा अनुहार देखेर पनि धेरैले चिन्न पाउँछन् । अनुहारमा मानिस लोभिँदैनन् । ज्ञान नै मुख्य तत्त्व हो । भिडियोमा वक्तत्व जारी गरे पनि वा लिपिबद्ध गरे पनि मुख्य कुरा मानिसलाई काम लाग्ने ज्ञान यदि छ भने त्यसले परिचय दिन थाल्दछ । यही परिचय दिने शृङ्खलाले उसका कुराहरु विश्वास गर्न योग्य बनेको समाजले बुझ्न थाल्छ । यथार्थमा आफूलाई पत्याउन सक्नु ठुलो कुरो हो । यदि आफ्नो विश्वास आफूमाथि छ भने विस्तारै आफूमाथि दुनियाले विश्वास गर्न थाल्छ । दुनियाको विश्वासलाई निरन्तर कायम राख्न आफ्नो अध्ययनको क्षितिजलाई बढाउनुपर्छ, ज्ञानको आकाशको आयाममा निरन्तर वृद्धि भइरहन्छ ।
लेखनको खुराक अध्ययन नै हो । अध्ययनको उत्साह लेखन हो, प्रकाशन हो । प्रकाशन ऊर्जा पनि हो । यदि पूर्णतः निस्पृह हुने हो भने लेखनको पठनबाट कोही ज्ञान प्राप्त गर्दछन्, सुख र आनन्दको अनुभूति गर्दछन् भने उक्त अवसर दिनुपर्छ । आफ्नो ज्ञान प्रकाशनको दायरालाई सीमित नराखी असीमित बनाउनको लागि र आफ्नो ज्ञानको क्षेत्रलाई अझ विस्तार गरी ज्ञानलाई रुढ बन्न नदिन अध्ययनका साथै लेखन वा प्रकाशन अपरिहार्य देखिन्छ । आफ्नो ज्ञानको कारण अरुलाई पनि फाइदा पुगोस् भन्ने सर्वजन हिताय र सर्वजन सुखायको भावनाबाट प्रेरित बन्नुपर्छ । आफ्नो कल्याणमा अरुको कल्याण छ र अरुको कल्याणमा नै आफ्नो कल्याण छ भन्ने भावनाले ओतप्रोत भई आफ्नो ज्ञानलाई सार्वजनिक गर्ने माग अवलम्बन गर्नुपर्छ । प्रसिद्धिको लोभ होइन, स्वलाभको मोह होइन, ज्ञानी हुनुको प्रदर्शन होइन र ज्ञानमा घमण्डको खिया लाग्न नदिन पनि आत्मज्ञान, अनुभूति तथा अध्ययनको निष्कर्षको प्रकाशन गर्नुपर्छ । आफ्नो ज्ञानलाई युगौँयुगसम्म बचाउनको लागि पनि यसको प्रकाशन सर्वथा आवश्यक हुन आउँछ । जुन ज्ञानले आफ्नो मात्र कल्याण गर्दछ, अन्यलाई फाइदा पुग्ने मार्गको अवलम्बन गर्दछ, उक्त ज्ञान स्वार्थी हुन्छ । र, ज्ञानी जानी नजानी स्वार्थी हुँदैन, हुनुहुँदैन । ज्ञानको उपयोग नितान्त स्वार्थको लागि हो भने उक्त ज्ञानको मूल्य सतही हुन जान्छ ।
ज्ञानको मूल्य प्रकाशनमा हुन्छ । हो, ज्ञानको दर्शन निसन्देह व्यावहारिक उपयोग वा प्रयोगमा हुन्छ । तर ज्ञान दार्शनिक तत्त्व पनि हो । दर्शन त आँखा चिम्लेर पनि गरिन्छ । चर्मचक्षुले देखेको तत्त्वभन्दा ज्ञानचक्षुले देखेको तत्त्व बढी स्पष्ट र दृढ हुन्छ । यसैले ज्ञानचक्षुको दृष्टिलाई विस्तार गर्ने ज्ञान प्रकाशनको मार्ग ज्ञानी र बुद्धिजीवीले अवलम्बन गर्नु उचित हुन्छ । हो, ज्ञानलाई कतिपयले शान्त हतियार पनि मान्दछन् । शान्त हतियारले आफैंलाई घाइते तुल्याउन सक्छ, अरुलाई पनि विक्षिप्त तुल्याउन सक्छ । हतियार त हो, यसले अङ्गभङ्ग गर्न सक्छ । अनि कपडा सिलाउने मानिसले जसरी कपडालाई अनेक किसिमले काटेर पुनः यसरी सिलाउँछन् कि मानिसले धारण गर्दछन् । कपडाबाट परिधान बनाउने काम गर्नु ठुलो कुरो हो । एक चिकित्सकले कुनै रोगबाट निरोग पार्नका लागि पनि चिरफार गर्दछन् । अतः ज्ञानलाई आफूमा मात्र सीमित राख्ने भावना ज्ञानीभित्रको विकृति हो । प्रकाशन गर्ने भावको अरुणोदय मनको क्षितिजमा गराउनुपर्छ । यो पनि एक किसिमले ज्ञानको प्राप्ति नै हो । एक अभिमानबाट उन्मुक्ति प्राप्त गरी लेखन गुणको आँगनबाट आत्मप्रकाशनको गर्वमा प्रवेश गर्नु हो । जब आत्मप्रकाशनको आकृति बजारमा आउन थाल्छ तब आफ्नो गर्वको विस्तृतीकरण हुन थाल्छ । ज्ञानीमाथि धेरै अज्ञानीहरुले ज्ञान प्राप्त गरी गर्व गर्न थाल्छन् । त्यो गर्वको आर्जनले अभिमान होइन, स्वाभिमान प्रदान गर्दछ । कुनै आवश्यक छैन, ज्ञानी र इच्छुकबिच कुनै औपचारिक सम्बन्ध हुन्छ । एउटाले प्रकाश दिन्छ, प्रकाश कतै पुग्छ र त्यसमा कोही प्रकाशित हुन्छ । प्रकाशन केवल माध्यम बन्दछ । अरुलाई आफूमाथि गर्व गर्न सक्ने वातावरण वा अवसर ज्ञानीले प्रदान गर्नुपर्छ । ज्ञानीको ज्ञानमाथि अज्ञानीको हकलाई स्थापित गर्नु ज्ञानीकर्म हो, ज्ञानीको धर्म हो ।
ज्ञानीले बाजा बजाएर ज्ञान दिने होइन । प्रकाशले आफ्नो विज्ञापन आफैँ गर्दछ । कुनै ज्ञान बाजा बजाएर प्राप्त हुँदैन । यद्यपि ज्ञानको प्रकाशनले भने हजारौँ मनलाई प्रज्ज्वलित गर्छ, मनलाई झङ्कृत बनाउँछ । ज्ञानले त मनलाई निर्मल बनाउँछ, पवित्र बनाउँछ । आफूले प्राप्त गरेको ज्ञानलाई प्रकाशन गर्न मनमा कलुषित आउन दिनु हुँदैन । कलुषको पर्दा पनि हटाउने आफैँले हो । अरुले दिने त उपदेश न हो । उपदेश दिन त सजिलो छ । जस कसैले जस कसैलाई पनि सतही उपदेश दिन सक्छ । ज्ञानी त सतही हुँदैन । ज्ञान आफैँमा गहिराइ हो । सतहमा रहेका र ज्ञानले कुनै खोलो तरी जीवनको सही मार्ग पहिल्याउन चाहनेलाई डुङ्गा बन्नुभन्दा डुङ्गारुपी ज्ञान प्रदान गर्नुपर्छ । त्यो डुङ्गा लेखनको विभिन्न सामग्रीले निर्माण हुने हो ।
यथार्थमा यथार्थमा आफ्नो चेतनाको व्यवस्थित सङ्कलन हो । आफ्नो चेतनाले आफैंलाई परिष्कृत पार्ने पनि हो । आफ्नो चेतनाको आफैँले मूल्यांकन गर्ने हो । आफ्नो मूल्यांकन गर्ने आधार र आफैँलाई पुनर्नवीकरणको आधार पनि आफ्नो लेखन हो । आफ्नो लेखनले आफूलाई प्रकाशित गर्छ । हुन त लेखन भन्नु आफ्नो प्रकाशन हो तर आफ्नो लेखनले आफूलाई अरुसामु प्रकाशित गरेसरह हो । आफ्नो अनुहारलाई प्रकाशमा ल्याउनु हो । यस कार्यमा हरेक ज्ञानीले आफूलाई समाहित गर्नुपर्छ । ज्ञानवान्ले अर्को ज्ञानवान्सित गर्ने अन्तरक्रिया हो, प्रेम हो । प्रेमले प्रेम फलाउँछ र आत्मप्रकाशनले बढाउने प्रेम स्थायी हुन्छ । आफूले आफूलाई प्रेम गर्ने, आफूलाई अन्तर्हृदयदेखि प्रेम गर्नेको संख्या विस्तार गर्ने र यी सबैको अन्तर्यमा ज्ञानको संसार फराकिलो बनाउने माध्यम लेखन हो भन्ने यथार्थलाई सबैभन्दा बढी ज्ञानीहरुले बुझ्नु परेको छ ।
साभार:इनेप्लिज

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*