आरएन पटेल, रौतहट, मंसिर २६ गते ।
रौतहटको विभिन्न आयोजनाहरुको अनुगमन तथा निरीक्षण ऊर्जा, जलस्रोत, सिचाईं तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरेका छन। नेपाल विश्वकर्मा लोहार संघ रौतहटका अध्यक्ष विवेक शर्माको विशेष पहलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री तथा उज्यालो अभियानका नायक कुलमान घिसिङ रौतहट जिल्लाको विभिन्न धार्मिक तथा विकास योजनासम्बन्धी स्थलहरूको निरीक्षण गर्नु भएको छ।
मन्त्री घिसिङ पहिलो चरणमा रौतहटको सुप्रसिद्ध धार्मिक तथा ऐतिहासिक केन्द्र शिवनगरधामस्थित शिव मन्दिरमा दर्शन तथा अवलोकनका लागि पुग्नुभएको थियो। त्यहाँ उहाँलाई स्थानीयवासी, धार्मिक अगुवाहरू तथा नेपाल विश्वकर्मा लोहार संघ रौतहटका पदाधिकारीहरूले भव्य स्वागत गरेका थिए।
शिवनगरधामको दर्शनपछि मन्त्री घिसिङले नेपाल विश्वकर्मा लोहार संघ रौतहटको कार्यालय तथा सोही परिसरमा रहेको विश्वकर्मा मन्दिरको पनि अवलोकन गर्नुभयो। निरीक्षणको क्रममा अध्यक्ष विवेक शर्माले मन्त्रीलाई रौतहट क्षेत्र नम्बर ३ र ४ का दीर्घकालीन रूपमा अधुरा तथा अवरूद्ध रहँदै आएका महत्वपूर्ण योजनाबारे विस्तृत जानकारी गराए।
वर्षौंदेखि बन्द अवस्थामा रहेको गरुडास्थित श्री राम सुगर मिल्स पुनः सञ्चालनको पहल, गरुडा-२, गेडही खानेपानी आयोजना छिटो सम्पन्न गर्ने माग, शिवनगरधाम नजिकैको लम्हा नदी नियन्त्रण कार्य अघि बढाउने आवश्यकता, जीर्ण अवस्थामा रहेको विश्वकर्मा मन्दिर निर्माण कार्य तथा गरुडा नगरपालिकाको पिपरिया स्थित अधुरो पुल निर्माणलाई तीव्रता दिने व्यवस्था मिलाउन शर्माले मन्त्री घिसिङलाई विशेष रूपमा ध्यानाकर्षण गराएका हुन।
उक्त मागहरूबारे सम्बोधन गर्दै मन्त्री घिसिङले रौतहटबासीका अपेक्षाहरूप्रति पूर्ण रूपमा संवेदनशील रहेको बताउँदै, अध्यक्ष शर्मा तथा स्थानीय नेतृत्वले अघि सारेका योजनाहरू सम्बन्धित मन्त्रालय तथा निकायहरूसम्म छिटोभन्दा छिटो पुर्याई आवश्यक प्रक्रिया अघि बढाइने विश्वस्त गराउनुभयो।
शिवनगरधामको अवलोकनपछि मन्त्री घिसिङ दुर्गा भगवती गाउँपालिकास्थित अधुरो पिपरा-बडहरवा बागमती पुलको प्रत्यक्ष निरीक्षण तथा अनुगमनका लागि समेत पुग्नुभएको छ। पुल निर्माण अधुरो रहँदा स्थानीयवासी वर्षौंदेखि सास्तीमा परेकाले मन्त्रीको यो अवलोकनले परियोजनामा नयाँ गति आउने स्थानीयले आशा व्यक्त गरेका छन्।
मन्त्री घिसिङको यस भ्रमणले रौतहटका दीर्घकालीन विकास योजनाहरू कार्यान्वयनमा नयाँ अपेक्षा र आशा जगाएको छ।
Sthaniya News
