Breaking News
रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन

रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन

स्थानीय न्यूज, रौतहट, मंसिर २५ गते।
रौतहटको परोहा नगरपालिका- ७, ८ नरकटियाका दलित समुदाय र पीडित परिवारले जग्गा हडपिएको आरोपसहित पटवारी नरेश प्रसाद पटेलविरुद्ध कडा कारवाहीको माग गर्दै गौरमा विरोध प्रदर्शन गरेका छन्।
“दलितको जग्गा लिखाउने पटवारी नरेश पटेललाई कारवाही गर”, “झुटा मुद्दा लगाउनेलाई कारवाही गर”, “हाम्रो मुद्दा दर्ता गर”, “दलितमाथि शोषण बन्द गर” जस्ता नारासहितको प्रदर्शन घण्टाघर चोकबाट सुरु भई जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतको गेटसम्म पुगेको थियो।
आज भन्दा करिब चार वर्षअघिको घटनाबाट सुरु विवाद परोहा नपाको वडा नं ७ नरकटियाका सुरेन्द्र महरा चमारले चार वर्षअघि गाउँकै नरेश प्रसाद पटेल (पटवारी)सँग ८ लाख १० हजार रुपैयाँ ऋण लिँदै आफ्नो ८ कठ्ठा १५ धुर जग्गा दृष्टिबन्धक राखेको बताउँदै आएका छन्। महराका अनुसार ऋण लिएपछि एक वर्षमै करिब साढे ७ लाख रुपैयाँ फिर्ता गरे पनि पटेलले दृष्टिबन्धक फुकुवा नगरी उल्टै उक्त जग्गा आफ्नो श्रीमतीको नामबाट अन्य व्यक्तिलाई बिक्री गरिदिए।
महराले केही जग्गा बिक्री गरी रकम चुक्ता गरिसकेको र बाँकी जग्गा हडप्ने प्रयास गरिएको आरोप लगाउँदै गाउँमा पटक-पटक बसेका छलफलबाट पनि समाधान नभएपछि आफू बाध्य भएर अनुचित लेनदेन सम्बन्धी मुद्दा दायर गरेको बताए।
प्रहरीद्वारा पक्राउ, अदालतमा सुनुवाइ:
जिल्ला प्रहरी कार्यालय रौतहटले मंसिर २ गते पटेललाई अनुचित लेनदेनसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको छ। उनी हाल प्रहरी हिरासतमा छन्। आज मंसिर २५ गते जिल्ला अदालत गौरमा सुनुवाइ तोकिएकै दिन पीडित तथा स्थानीय दलित समुदायले न्याय र छानबिनका मागसहित अदालत गेटअघि धर्ना बसेका छन।

नेपाल दलित समाज परोहा-७ र ८ का प्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिन, पीडित सुरेन्द्र महरालाई जग्गा फिर्ता दिलाउनुपर्ने र पटेलमाथि कानूनअनुसार कडा कारवाही हुनुपर्ने माग गरेका छन्।
उनीहरूले दलित समुदायमाथि हुने शोषण, दमन र आर्थिक ठगीका घटनामा कडाइका साथ कानुनी उपचार हुनुपर्ने भन्दै सरकार, प्रशासन र न्यायालयको ध्यानाकर्षण गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*