स्थानीय न्यूज
रौतहट,पौष ०८ गते।
रौतहटको वृन्दावन नगरपालिका वडा नं. ८ आकडपाथरमा निर्माणाधीन शुद्ध खानेपानी ओभरहेड ट्यांकी सञ्चालनका लागि डिप बोरिङको शिलान्यास सम्पन्न भएको छ। मंगलबार एक कार्यक्रमका बिच नगर प्रमुख विनोद प्रसाद कुर्मीले वैदिक विधिपूर्वक पूजापाठ गर्दै डिप बोरिङको शिलान्यास गर्नुभएको हो।
४ करोड ७८ लाख ७ सय ७७ रुपैयाँ लागतमा अघि बढाइएको यस आयोजना अन्तर्गत ५ लाख लिटर क्षमताको ओभरहेड पानी ट्यांकी निर्माण भइरहेको छ। उक्त ट्यांकीबाट वृन्दावन नगरपालिका वडा नम्बर ८ र ९ का बासिन्दाले प्रत्यक्ष रूपमा शुद्ध र सुरक्षित खानेपानी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख कुर्मीले खानेपानीलाई नागरिकको आधारभूत आवश्यकताको दीर्घकालीन समाधानका लागि यो आयोजना अघि बढाइएको बताउनुभयो।
स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा सम्पन्न शिलान्याससँगै आकडपाथर क्षेत्रमा शुद्ध खानेपानी आपूर्तिको दिशा स्पष्ट रूपमा अघि बढेको विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष रविन्द्र प्रसाद साहका साथै वडा नम्बर ९ का वडा अध्यक्ष प्रवेज आलम लगायत त्यहाँका वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु र स्थानीय जनसमुदायको पनि उपस्थिति रहेको थियो।
Sthaniya News
