Breaking News
रौतहट-२ मा मनोनयन दर्ता सम्पन्न, २६ उम्मेदवारबीच कडा प्रतिस्पर्धाको संकेत

रौतहट-२ मा मनोनयन दर्ता सम्पन्न, २६ उम्मेदवारबीच कडा प्रतिस्पर्धाको संकेत

आरएन पटेल, रौतहट, माघ ०६ गते।
रौतहट निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। परोहा नगरपालिका स्थित लौकाहा बजारमा रहेको निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल २६ जनाले विधिवत रूपमा उम्मेदवारी दर्ता गराएका छन।


मनोनयन दर्ता गर्ने प्रमुख उम्मेदवारहरूमा नेपाली कांग्रेस पार्टीबाट डा. मो. फिरदोस आलम, जनता समाजवादी पार्टी नेपालबाट रामअशिष राय यादव, नेपाली कम्युनिस्ट पार्टीबाट किरण कुमार साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शेख सगिर, नेकपा एमालेबाट महम्मद अतिउल्लाह, प्रगतिशील लोकतांत्रिक पार्टीबाट सुरेन्द्र प्रसाद जयसवाल, जनमत पार्टीबाट सोनु कुशवाहा, आम जनता पार्टीबाट श्रीभगवान राउत कुर्मी, राष्ट्रिय जनमोर्चा पार्टीबाट नेक महम्मद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रबिन्द्र साह, नेपाल जनता पार्टीबाट राजकुमार यादव, नेपाल मजदूर किसान पार्टीबाट शेख अमिरुल हक, उज्यालो नेपाल पार्टीबाट रामाकान्त प्रसाद पटेल, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट संजय सहनी रहेका छन। यसका अतिरिक्त १२ जना स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन।


मनोनयन दर्ताको अवसरलाई राजनीतिक दलहरूले शक्ति प्रदर्शनको रूपमा प्रस्तुत गरेका थिए। बाजा-गाजा, नाराबाजी र ठूलो दल-बलसहित आ-आफ्ना उम्मेदवारलाई निर्वाचन कार्यालयसम्म पुर्‍याइएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार शक्ति प्रदर्शनमा नेपाली कांग्रेस पार्टी पहिलो स्थानमा देखिएको थियो भने जनता समाजवादी पार्टी नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण कुमार साह, जनमत पार्टीका सोनु कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगिरले पनि उल्लेख्य संख्यामा नेता-कार्यकर्ता उतार्दै प्रभावशाली उपस्थिती जनाएका थिए।


मनोनयन दर्ताका क्रममा हजारौंको संख्यामा उपस्थित विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले आ-आफ्नो पार्टीको चर्को नाराबाजी गर्दै निर्वाचन कार्यालय पुगेका थिए। यसले लौकाहा बजार क्षेत्र दिनभरि नै उत्साहपूर्ण र राजनीतिक माहोलले भरिएको देखिन्थ्यो।
मनोनयन दर्ता सम्पन्न भएसँगै रौतहट-२ मा अब चुनावी प्रतिस्पर्धा थप तातेको छ भने आगामी दिनमा चुनावी अभियान झनै रोचक र तीव्र हुने संकेत देखिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*