प्रेमचन्द्र झा,रौतहट,माघ १२ गते
रौतहट क्षेत्र नं. -२ (क) का पूर्व प्रदेशसभा सदस्य तथा जनप्रिय नेता नागेन्द्र प्रसाद सिन्हाको ७५ वर्षको उमेरमा ब्रेन हेमरेजका कारण निधन भएको छ। जीवनको अन्तिम क्षणसम्म गाउँ, समाज र क्षेत्र सेवामा अनवरत रूपमा समर्पित रहनुभएका सिन्हाको निधनले समग्र रौतहट जिल्लालाई शोकमा डुबाएको छ।
ईशनाथ नगरपालिका वडा नम्बर २ निवासी सिन्हा ईशनाथ नगरप्रमुख कौशल्या देवीका श्रीमान समेत हुनुहुन्थ्यो। उहाँलाई आइतबारदेखि स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको थियो। उपचारकै क्रममा उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

सरल स्वभाव, जनमुखी नेतृत्व र सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका सिन्हा स्थानीय जनतामाझ अत्यन्त लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँले राजनीतिको माध्यमबाट क्षेत्रको विकास, सामाजिक सद्भाव र जनहितका विषयमा महत्वपूर्ण योगदान पुर्याउनुभएको स्थानीयवासीको भनाइ छ।
सिन्हाको निधनको खबर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
स्वर्गीय सिन्हाको निधनले रौतहटले एक अनुभवी, समर्पित र जनप्रिय नेता गुमाएको भन्दै सर्वत्र दुःख व्यक्त गरिएको छ।
Sthaniya News
