आरएन पटेल,रौतहट, माघ १६ गते।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुन्दन कुशवाहाले आफ्नो चुनावी एजेन्डाबारे पत्रकारहरूसँग जानकारी गराएका छन ।
कटहरिया गाविसका पूर्व अध्यक्ष जादाेलाल महतोका छोरा कुशवाहा २०७४ सालको मधेस प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए । हाल उनी कटहरिया नगरपालिकाको वडा नम्बर ४ का स्थायी बासिन्दा हुन ।
पत्रकारहरू सँग कुरा गर्दै कुशवाहाले सूर्य चिन्ह लिएर एमालेमा प्रवेश गरेपछि आफूले पदसमेत गुमाउनुपरेको स्मरण गरे । “तर पद गयो भन्दैमा जनताप्रतिको दायित्व कहिल्यै घटेन,” उनले भने, “रौतहट क्षेत्र नम्बर ३ का ४४ वटै वडाका हरेक समुदायको दुःख–सुखमा म सधैं साथ दिँदै आएको छु ।”
अब संघीय सांसदको रूपमा चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै उनले सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । “यो क्षेत्रको समग्र विकास कसरी सम्भव हुन्छ भन्ने विषयमा म स्पष्ट छु,” उनले भने, “जनतासँग मेरो आग्रह छ—मलाई एक पटक अवसर दिएर जाँच गर्नुहोस् ।”
‘किन तपाईंलाई भोट दिने?’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै कुशवाहाले विकासका हरेक मोडालिटीमा आफू सक्रिय रहने दाबी गरे । “प्रदेश सांसद हुँदा कटहरियालाई मलाही–कटहरिया–समनपुर र धनसरदेखि इनरवा, नरकटिया हुँदै कटहरियामा प्लस सडक बनाउने काम मैले नै गरेको हुँ,” उनले भने, “केही नेताले यसको श्रेय आफूले लिएको प्रचार गरिरहेका छन्, तर त्यो सत्य होइन् ।”
कटहरियाको व्यापारिक विकासका लागि समेत आफू निरन्तर काम गरिरहेको उनको भनाइ छ । उनले क्षेत्रको मुख्य समस्या सरकारको पैसा व्यक्तिहरूले दुरुपयोग गर्नु रहेको आरोप लगाए । “नाम मात्रको विकास भइरहेको छ,” उनले भने, “जनता विकास भएको भ्रमबाट बाहिर निस्कन जरुरी छ । यी सबै सत्य चाँडै जनतामाझ आउनेछ।”
अन्त्यमा कुशवाहाले मतदातालाई आफूलाई मत दिएर परीक्षण गर्न आग्रह गर्दै रौतहट क्षेत्र नम्बर ३ लाई वास्तविक विकासको बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन।
Sthaniya News
