Breaking News
बौधीमाईमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

बौधीमाईमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

आरएन पटेल,राैतहट,माघ २३ गते ।
रौतहटको बौधीमाई नगरपालिकामा एचपिभी (HPV) खोप सम्बन्धी पालिका स्तरीय सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाकाे आयोजनामा सम्पन्न उक्त कार्यक्रम पालिकाको प्रमुख प्रशासकीय अधिकृत उदयशंकर प्रसाद चौधरीको अध्यक्षता तथा नगर प्रमुख प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक तारकेश्वर पटेलले एचपिभी खोपबारे सहजीकरण गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरूका लागि गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको जानकारी गराए । उनले प्रस्तुत तथ्यांक अनुसार नेपालमा दैनिक औसत ४ देखि ५ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको बताए । एचपिभी खोपले उक्त क्यान्सरबाट ९० प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्ने उनले स्पष्ट पारे ।
सहजीकरणका क्रममा संयोजक पटेलले एचपिभी खोपको लक्षित समूह मुख्यतया १० वर्ष उमेरका बालबालिका रहेको जानकारी दिए । नेपालमा विगतमा विद्यालय तहमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई यो खोप लगाइसकिएको उल्लेख गर्दै उनले माघ २५ गतेदेखि २८ गतेसम्म पुनः खोप अभियान सञ्चालन हुने जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख प्रदीप यादवले एचपिभी खोप अभियानलाई सफल बनाउन सबै सरोकारवालाले आ-आफ्नो ठाउँबाट सक्रिय सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । नगरपालिकाको तर्फबाट अभियान सफल पार्न पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
त्यस्तै, उप-प्रमुख प्रमिला देवीले पनि एचपिभी खोप अभियानलाई सफल बनाउन आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले खाेप सञ्चालन हुने सम्बन्धि जानकारी गराउन सहभागीहरू लाई अनुराेध गर्नु भयाे ।
साे अवसरमा सशस्त्र र जनपद प्रहरीका प्रतिनिधि, वडा नम्बर १ देखी वडा नम्बर ९ सम्मका वडा अध्यक्ष, पालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्र.अ. एवं प्रतिनिधिहरु, पालिकाका विभिन्न शाखा प्रमुख लगायत सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*