आरएन पटेल, रौतहट।
९ गते असोज
रौतहटको बौधिमाई नगरपालिकाको कार्यालय र मेयर प्रदीप यादव चढ़ने गाड़ी समेत विद्यार्थीहरुले तोडफोड गरेका छन् । आइतबार नगरपालिकाको वडा नं. ८ सरमुज्जवा अन्तर्गतका श्री शंकर मावि का विद्यार्थीहरुले नगरपालिका र मेयर यादव चढ़ने गाड़ीमा तोडफोड गरेका हुन् ।

विद्यार्थीहरुको समूहले आफूहरुले बारम्बार शैक्षिक भ्रमणको लागि बजेट छुट्याउन माग गरेपनि नगर प्रमुख प्रदीप यादवले अटेर गरेको भन्दै तोडफोड गरेको जनाइएको छ । आक्रोशित विद्यार्थीहरुको समूहले नगरपालिकामा राखिएको नगर प्रमुख यादव चढ्ने ना १ झ १६९३ नम्बरको सरकारी गाडी समेत क्षतिग्रस्त बनाएका छन् ।
विद्यार्थीहरु भ्रमण खर्च माग्न आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराईदिने भन्दा पनि सो समूहले कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको नगरप्रमुख यादवले बताए ।

आक्रमणबाट नगरपालिका परिसर भित्र रहेका मोटरसाइकल, मेयर चढ्ने गाडी, सिसीटिभि, सेफ्टी ट्याङ्की,फर्निचर,र विद्युतीय उपकरण लगायतमा तोडफोड गरिएको नगरप्रमुख प्रदिप यादवले जानकारी दिए ।

प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि ९ राउन्ड अश्रु ग्याँस तथा ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ । आक्रमणबाट चार जना प्रहरी लगायत केही विद्यार्थीहरु पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
राजनीतिक दलद्वारा परिचालित विद्यार्थीको नाममा अज्ञात समुहद्वारा आफू माथि संघात्मक हमला गरेको मेयर यादवले बताएका छन्। अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ
Sthaniya News
