कात्तिक ३०, काठमाडौं ।
प्रेस काउन्सिल नेपालले चुनावका क्रममा राजनीतिक दल र उम्मेदवारले सञ्चारमाध्यममा गरेका विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ।
निर्वाचन आचारसंहिता बाहिर गएर विज्ञापन भइरहेकोले आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जनाएको छ।
अनुगमनका क्रममा सञ्चारमाध्यमबाट विज्ञापन प्रचार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार-समयावधि-पटक र सःशुल्क जनाउनेतर्फ चासो दिएको नपाइएको काउन्सिलले जनाएको छ।
काउन्सिलले यसअघि पनि सम्बन्धित सञ्चारमाध्यमलाई ध्यानाकर्षण एवम् सचेत गराइरहेको छ।
काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा बोर्डलाई विज्ञापन निमयन गर्न भनिएको जनाइएको छ।
काउन्सिलले बुधबार नै कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिकलगायत केही सञ्चारमाध्यमलाई आचारसंहिता बाहिर गई विज्ञापन दिएको विषयमा सचेत गराएको छ।
यस्तै, राजनीतिक दलका उम्मेदवारले चुनावीसभामा बोलेको विषयलाई सञ्चार माध्यमकै धारणाजसरी शीर्षक चयन गरेकोमा शीर्षक चयनमा सावधानी अपनाउनेतर्फ सरकारी सञ्चार माध्यम गोरखापत्र दैनिकलाई ध्यानाकर्षण गराएको छ।
अनुगमनका क्रममा ९३ सञ्चार माध्यमले आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण गरेको देखिएको छ।
विशेष अनुगमन प्रारम्भ भएयता कार्तिक ३० गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेका २२ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, रेडियो २०, ४६ वटा अनलाइन, ५ वटा वेबपोर्टलले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ।
यी समाचार माध्यममध्ये ६ वटालाई निर्देशन, ५० वटालाई ध्यानाकर्षण, २२ वटालाई सचेत र १२ वटालाई स्पष्टीकरण सोधिएको छ। दर्ता-सूचीकरण नभएका ५ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने ३ वटा अनलाइन माध्यमलाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ।
अनुगमन हुँदा राजनीतिक दलको प्रचारप्रसारको विज्ञापन निर्वाचन आचारसंहिताविपरीत प्रकाशन-प्रसारण गरेवापत ध्यानाकर्षण गराइए पनि त्यसतर्फ सावधानी अपनाएको नपाएको, कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी सर्वेक्षण एवं विश्लेषण सहित सम्प्रेषण भएका सामग्रीउपर ‘निर्वाचनको मुखमा कुनै अमुक उम्मेदवारहरूबारे सर्वेक्षण गर्ने र मत परिणामलाई असर पार्ने काम गरेको’ भनी अन्य उम्मेदवारबाटै उजुरी आउने क्रम बढेकोले रोक्न काउन्सिलले सचेत गराएको छ।
प्रचारप्रसारको अन्तिम समयमा निर्वाचन सन्दर्भमा घृणास्पद अभिव्यक्ति, दुष्प्रचार, गलत तथा भ्रमपूर्ण सूचनाहरू आउन सक्ने हुँदा त्यसतर्फ सजगता अपनाउन पनि काउन्सिलले भनेको छ।
कसैको पक्ष वा विपक्षमा हुनेगरी सामग्री सम्प्रेषण हुन नदिन र सर्वेक्षण एवं विश्लेषणयुक्त सामग्री निर्वाचन मतदान भएपपछि मात्रै सार्वजनिक गर्न-गराउन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिलले अपिल समेत जारी गरेको छ।