रौतहट, चैत ७ गते।
मधेस प्रदेशका विभिन्न स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समय टिक्न नसक्ने प्रवृत्ति देखिँदै आएको छ। धेरैजसो हाकिमहरू पालिकामा आउन चाहँदैनन्, आए पनि लामो समय बस्न गाह्रो हुन्छ। यस्तो अवस्थामा अधिकांश स्थानीय तहहरू निमित्त अधिकृतहरूकै भरमा सञ्चालन भइरहेको देखिन्छ। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकामा भने प्रशासनिक स्थायित्व कायम राख्दै उपसचिव खिम बहादुर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा निरन्तर दुई वर्षसम्म जिम्मेवारी सुम्पेको छ। यस निरन्तरताले वृन्दावन नगरपालिकाको विकास निर्माण तथा सेवा प्रवाहलाई संस्थागत र प्रणालीगत रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
नगर प्रमुख बिनोदप्रसाद कुर्मीका अनुसार भुजेलको नेतृत्वमा वृन्दावन नगरपालिकाले चौतर्फी विकासको यात्रामा उल्लेखनीय सफलता प्राप्त गरिरहेको छ। “नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको कुनै विकल्प छैन,” कुर्मीले भने।
भुजेलको निरन्तरतासँगै नगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सफाइ, र डिजिटल प्रशासनजस्ता क्षेत्रमा महत्वपूर्ण सुधार गरेको छ। स्थानीय जनतासँग समन्वय गरी योजनाहरू कार्यान्वयन गर्न सक्ने नेतृत्व क्षमताकै कारण नगरपालिकाले सेवा प्रवाहलाई व्यवस्थित ढंगले अगाडि बढाइरहेको नगरबासीहरू बताउँछन्।
नगर प्रमुख कुर्मीले संघीय सरकारलाई वृन्दावन नगरपालिकामा प्रशासनिक स्थायित्व कायम राख्न र विकास योजनाहरूलाई दिगो रूपमा कार्यान्वयन गर्न भुजेललाई निरन्तरता दिन आग्रह गरेका छन्।