आरएन पटेल
रौतहट, मंसिर २० गते।
रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा अनिता-शिव प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय बज्जिका सम्मान तथा पुरस्कारबाट बज्जिका साहित्यकार एवं बज्जिकासेवी सञ्जय साह “मित्र” सम्मानित भएका छन। नपाको मिठुअवा बज्जिकानगर स्थित शिवचन्द्र साहको निवासमा अनिता-शिव प्रतिष्ठान माधवनारायण नपा-मिठुअवाको आयोजनामा “अनिता-शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोत्कृष्ट पुरस्कार २०२४” र “अनिता-शिव अन्तर्राष्ट्रिय बज्जिका सम्बन्ध-सेतु सम्मान २०२४” समर्पण समारोह २०२५ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष नीतिश गुप्ताले गर्नुभयो भने कार्यक्रमको सञ्चालन बज्जिका साहित्यकार बिन्दा प्रसाद साहनीले गर्नुभएको थियो। समारोहमा साहित्य, भाषा, संस्कृति र बज्जिका पहिचानका विविध पक्षमा योगदान पुर्याउने दर्जनों व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

यस वर्षको अनिता-शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोत्कृष्ट पुरस्कार २०२४ प्रतिष्ठित साहित्यकार एवं बज्जिका सेवी “सञ्जय साह ‘मित्र’ “लाई प्रदान गरिएको छ। उहाँलाई पुरस्कार स्वरूप रु. २५,००० नगद सहित सम्मानपत्र र दोसल्ला अर्पण गरियो।
कार्यक्रमका प्रमुख अतिथि घनश्याम परिश्रमी रहेका थिए भने अतिथिहरूमा मणिभूषण प्रसाद सिंह ‘अकेला’, डा. भावना, डा. उषाकिरण श्रीवास्तव, डा. पूनम सिन्हा ‘श्रेयसी’, डा. सतीशचन्द्र भगत, अजय कुमार झा, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल यादव ‘श्रीकृष्ण’, गोरखापत्र दैनिकका कुमार विवेकानन्द मिश्र, रमेश समर्थन लगायत नेपाल-भारतका विभिन्न जिल्लाबाट आएका बज्जिका कवि तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति थियो।

समारोहले बज्जिका भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन तथा संरक्षणमा अनिता-शिव प्रतिष्ठानले निभाउँदै आएको भूमिकालाई अझ सुदृढ बनाएको आयोजकहरूले बताएका छन्। सहभागीहरूका अनुसार यस्ता कार्यक्रमहरूले नेपाल-भारतका बज्जिका साहित्यकारहरूबीच भावनात्मक सम्बन्ध, सांस्कृतिक आदान-प्रदान र सहकार्यको सेतु मजबुत बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ।
Sthaniya News
