स्थानीय न्यूज
रौतहट, मंसिर २२ गते।
रौतहटको बौधिमाई नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक तथा भौतिक पूर्वाधार अवस्थाको अनुगमन GenZ 2.0 का जिल्ला संयोजक सोनु कुशवाहाको नेतृत्वमा सम्पन्न गरिएको छ। अनुगमन टोलीले आइतबार अनुगमनको क्रममा विद्यालयहरूमा व्यवस्थापन सुधार, सरसफाइ प्रवर्द्धन, शौचालय अभाव, सेनेटरी प्याडको पहुँच, तथा विज्ञान प्रयोगशाला स्तरोन्नति जस्ता महत्वपूर्ण पक्षमा तत्काल ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ।
अनुगमनका क्रममा विद्यार्थीहरूले खेलकुद सामग्रीको अभाव मुख्य चुनौती रहेको बताएका थिए। सोही विषयमा संयोजक कुशवाहाले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सामग्री छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उता, बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले पनि विद्यालयको समग्र सुधार आफ्नो प्राथमिकतामा रहेको बताउँदै आवश्यक संसाधन व्यवस्थापन चाँडो नै गर्ने आश्वासन दिए।
शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले परोहा र बौधिमाइका युवाहरू सक्रिय रूपमा अभियानमा जोडिँदै आएका छन्। उनीहरूको निरन्तर सहयोग र सहभागिताले शिक्षा सुधार अभियान अझ प्रभावकारी बन्दै गएको स्थानीयहरूले बताए।
अनुगमन टोलीले सुझावसहितको प्रतिवेदन तयार गरी नगरपालिकालाई उपलब्ध गराउने तयारी गरेको छ, जसको आधारमा सामुदायिक विद्यालयहरूमा छिटो र व्यावहारिक सुधार कार्य अघि बढ्ने अपेक्षा गरिएको छ।
Sthaniya News
