स्थानीय न्यूज संवाददाता
जनकपुरधाम, पौष ०५ गते ।
मधेश प्रदेश सभाको सभामुख पदका लागि सात दलीय गठबन्धनबाट माननीय रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन।

प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम मधेश प्रदेश सभाको सभामुख पदको निर्वाचन मिति २०८२ साल पुष ६ गते आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ। माननीय उपसभामुखले निर्वाचनको मिति र समय तोकेसँगै सोही नियमावलीको उपनियम (१) अनुसार निर्वाचन कार्यक्रम प्रकाशित गरिएको थियो।
निर्वाचन कार्यक्रम अनुसार आज मिति २०८२ पुष ५ गते सभामुख पदका लागि मनोनयन दर्ता गराउने क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल, मधेश प्रदेशका प्रमुख सचेतक तथा भद्र, शालीन र बौद्धिक व्यक्तित्व माननीय रामअशिष यादवले सात दलीय गठबन्धनको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।
धनुषा जिल्ला, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टी निवासी ५६ वर्षीय यादवको प्रस्तावकमा प्रदेश सभा सदस्य माननीय बिरेन्द्र प्रसाद सिंह र समर्थकमा माननीय फकिरा महतो रहेका छन्।
सभामुख पदका लागि अर्का उम्मेदवारका रूपमा बारा जिल्ला, कोल्हवी नगरपालिका वडा नं. ०६ प्रसौना निवासी प्रदेश सभा सदस्य माननीय त्रिलोकी प्रसादले पनि मनोनयन दर्ता गराएका छन्।
यस अवसरमा जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले माननीय रामअशिष यादवलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघीयतालाई अझ परिस्कृत र संस्थागत गर्न सभामुख जस्तो गरिमामय पदमा रही उहाँले सकारात्मक र प्रभावकारी भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन कार्यतालिका अनुसार पुष ६ गते आइतबार दिउँसो १ बजे मधेश प्रदेश सभा सचिवालयमा बस्ने प्रदेश सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारीमाथि सामूहिक छलफल गर्ने तथा दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
Sthaniya News
