स्थानीय न्यूज, रौतहट, माघ १४ गते।
परोहा नगरपालिका वडा नं. ९ स्थित रामपुरखाप गाउँमा माघ १२ गते सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादका सम्बन्धमा माघ १४ गते बुधवारका दिन प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालयमा सम्पन्न उक्त बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थितिमा घटनाबारे विस्तृत छलफल गर्दै तीनबुँदे निर्णयमा सहमति जुटाइएको हो।
बैठकले परोहा नगरपालिका वडा नं. ९ रामपुर गाउँमा मिति २०८२ माघ १० र १२ गते देखा परेको परिस्थितिप्रति दुःख व्यक्त गर्दै घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। सयौँ वर्षदेखि धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम रहेको उक्त गाउँमा यस वर्ष पहिलो पटक धार्मिक सद्भाव विथोल्ने आन्तरिक तथा बाह्य दुष्प्रयास भएकोप्रति खेद व्यक्त गर्दै त्यस्ता तत्वबाट सचेत रहन गाउँवासीमा हार्दिक अपिल गरिएको छ।

त्यसैगरी, रामपुर गाउँमा भएको घटनाको सूक्ष्म अध्ययन तथा अनुसन्धान गरी दोषी उपर प्रचलित कानून बमोजिम कडाइका साथ कारबाही गर्ने निर्णय गरिएको छ। साथै, आगामी दिनमा यस्ता घटना पुनः नदोहोरिन गाउँवासीको सामूहिक प्रयास आवश्यक रहेको र प्रहरी प्रशासन, स्थानीय तह तथा स्थानीयवासीबीच सुदृढ समन्वय कायम गर्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने सहमति गरिएको छ। कुनै पनि धार्मिक वा सामाजिक कार्यक्रमको आयोजनामा आयोजक पक्षले विशेष सजगता अपनाउने र सम्पूर्ण जिम्मेवारी वहन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नारायण दल गण पुरैनवाका प्रमुख सेनानी विश्वास बिष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण मुख्यालयका सहायक प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निरीक्षक कुमार बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव लगायत स्थानीय सुखाडी राउत, विन्देश्वरी प्रसाद, उपेन्द्र प्रसाद पटेल, मेघनाथ पटेल, पवन पटेल, विजय कुमार साह, रुपेश पटेल तथा विभिन्न स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
Sthaniya News
