आरएन पटेल, रौतहट, माघ १७ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार योगेन्द्र राय यादवले चुनावी प्रचार-प्रसारको क्रममा क्षेत्रका विभिन्न पालिकाहरूमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै छाता छापमा मतदान गर्न आग्रह गरेका छन।

चुनावी अभियानका क्रममा स्थानीय जनताबाट उल्लेखनीय सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउँदै उम्मेदवार यादवले परिवर्तन चाहने जनताले यस पटक जसपा नेपाललाई अवसर दिनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरेका छन। उनले विगतदेखि उठदै आएका जनजीविकासँग जोडिएका समस्याहरूको समाधान, समावेशी विकास, सुशासन र सामाजिक न्याय स्थापनाका लागि जसपा नेपालको नेतृत्व अपरिहार्य रहेको दाबी गरेका छन।

योगेन्द्र राय यादवका अनुसार रौतहट क्षेत्र नं. १ को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्दै जनतासँगै अघि बढ्ने स्पष्ट नीति तथा कार्यक्रम जसपा नेपालसँग रहेको छ।
चुनावी प्रचारका क्रममा स्थानीय बासिन्दाहरूले विकास र स्थायित्वको चाहना व्यक्त गर्दै यस पटक नयाँ सोच र दृढ नेतृत्वलाई साथ दिने संकेत देखिएको यादवले बताएका छन्। उनले जनताको विश्वास र समर्थनले नै आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै चुनावपछि पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन।

Sthaniya News
