Breaking News
रौतहटमा ६४९औँ सन्त शिरोमणि गुरु रविदास जीको जन्मोत्सव भव्य रूपमा सम्पन्न

रौतहटमा ६४९औँ सन्त शिरोमणि गुरु रविदास जीको जन्मोत्सव भव्य रूपमा सम्पन्न

आरएन पटेल,रौतहट, माघ १८ गते।
सन्त शिरोमणि गुरु रविदास जीको ६४९औँ जन्मोत्सव समारोह २०८२ सालको अवसरमा रौतहट जिल्लाको गुजरा नगरपालिका–९, सिमरा भवानीपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
चमार कल्याण समाज नेपाल केन्द्रीय कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न तहका अगुवा, बुद्धिजीवी, युवाहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पुनित राम चमारको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी तथा विशिष्ट अतिथि चन्द्रपुर अस्पतालका संचालक सुबास चौधरी रहेका थिए ।
कार्यक्रममा गुरु रविदास जीले प्रतिपादन गर्नुभएको समता, समानता, सामाजिक न्याय, मानवता र छुवाछूतविरुद्धको विचारधारामाथि प्रकाश पार्दै वक्ताहरूले उहाँको योगदान आजको समाजका लागि अझै सान्दर्भिक रहेको बताए।
अध्यक्षीय मन्तव्यमा पुनीत रामले गुरु रविदासको शिक्षाले समुदायलाई आत्मसम्मान, एकता र चेतनाको मार्गमा अघि बढ्न प्रेरणा दिएको बताए ।
प्रमुख अतिथि सन्तलाल प्रसाद चौधरीले विभेदरहित समाज निर्माणमा गुरु रविदासको सन्देश महत्वपूर्ण रहेको भन्दै मानवताको मूल्य आत्मसात गर्नुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि सुबास चौधरीले गुरु रविदासका विचारले नयाँ पुस्तालाई सही दिशा दिने उल्लेख गर्दै शिक्षित, सचेत र एकताबद्ध समाज निर्माण आजको आवश्यकता भएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि डा. रामजी रामले १५ औँ शताब्दीका महान सन्त गुरु रविदासको जीवन, दर्शन र समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानमाथि प्रकाश पार्दै जातीय विभेद, छुवाछुत र अन्यायविरुद्ध आवाज उठाउँदै मानव समानता, श्रमको सम्मान र प्रेमको मार्ग देखाउने गुरु रविदासको शिक्षा आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो । “मन चंगा तो कठौती में गंगा” जस्ता वाणीको पूरा रूप अर्थात वास्तविक अर्थ सम्पूर्ण समाजलाई बुझनुपर्ने आवश्यकता रहेको उनले आफ्नो धारणा राखेका छन।यस वाणीको मूल मर्म सकारात्मक सोच र आत्मशुद्धितर्फ प्रेरित गर्ने उनले प्रष्ट पारेका थिए ।
“ऐसा चाँहु राज मैं जहाँ मिलै सबनको अन्न, छोट–बड़ो सब सम बसै, रहे रविदास प्रसन्न” भन्ने गुरु रविदास जीको वाणीले समतामूलक समाज निर्माणको सन्देश दिने वक्ताहरूले उल्लेख गरे।
कार्यक्रममा वक्ताहरूले गुरु रविदास जीको विचारलाई व्यवहारमा उतार्दै सामाजिक विभेद अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। साथै दलित अधिकार, सामाजिक समानता र सम्मानजनक जीवनका लागि गुरु रविदास जीको दर्शन मार्गदर्शक बन्ने उनीहरूको भनाइ थियो।
जन्मोत्सव समारोह शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*